बाँकेमा गाई चराउन वनमा गएका लखन फर्केर आएनन्,दुई दिनपछि खोजतलास गर्दा गाईसंगै मृत भेटिए — OSNepal

बाँकेमा गाई चराउन वनमा गएका लखन फर्केर आएनन्,दुई दिनपछि खोजतलास गर्दा गाईसंगै मृत भेटिए

LC (KTM) November 15, 2021 0

बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए । निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो ।

नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी राष्ट्रिय वनमा गडरियाको शव फेला परेको थियो । शवको पिठ्यँुको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।

बाँके निकुञ्जसँगै जोडिएको राप्तीसोनारी गाउँपालिकाको गाभर क्षेत्रमा केही महिनाअघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि बाघको त्रास फैलिएको थियो । राष्ट्रिय वनमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएको नरैनापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो ।

बाघको आक्रमणमा ज्यान गुमाएका गडरियाको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर