OSNepal बिहिबार, मंसिर १६ २०७८

पानीको व्यवस्थित मुहान नपाउँदा ५६ वर्षदेखि काकाकुल भालुखोपवासी

पानीको व्यवस्थित मुहान नपाउँदा ५६ वर्षदेखि काकाकुल भालुखोपवासी

  • OSNepal
  • सोमबार, कार्तिक २९ २०७८


पानीको व्यवस्थित मुहान नपाउँदा ५६ वर्षदेखि काकाकुल भालुखोपवासी
Reading Time: < 1 minute

सर्लाही, २९ कात्तिक- सर्लाहीको भालुखोपका स्थानीयले पानीको व्यवस्थित मुहान नपाउँदा वर्षाैँदेखि काकाकुलको जीवन बिताइरहेका छन् ।

लालबन्दी नगरपालिका–१२स्थित चुरेको श्रृ‌ंखलामा अवस्थित गाउँ भालुखोप एक मगर समुदायको पुरानो बस्ती छ । २०२२ सालको नापीदेखि उनीहरूले उक्त स्थानमा जोतभोग गर्दै आएका छन् । अत्यन्त विपन्न समुदायको बसोवास रहेको उक्त बस्तीमा पानीकाे चरम अभाव रहेकाे स्थानीय बताउँछन् ।

१०० घरधुरी रहेको गाउँको बीचमा एउटा मात्र कुवा छ । त्यसले पनि वर्ष भरी गाउँलाई पानी पुर्‍याउन सकेको छैन । पानी समस्या समाधान गर्न कसैले ध्यान नदिएको स्थानीय कृष्णबहादुर जर्गाले बताए । ‘हामीले यहाँ पेटभरी पानी पनि पिउन पाएका छैनौँ’, उनले भने, ‘हाम्रो समस्या कसले बुझ्ने, बर्सेनि आधा वर्ष त छटपटाएर बिताउँछौँ ।

गाउँलेहरूले पानी पिउने गरेको एकमात्र कुवा प्राय मंसिर महिनाबाट सुक्छ । त्यस पनि झनै दु:खको दिन सुरु हुने स्थानीय सीता मगरले बताइन् । ‘त्यसपछि कहिले कता, कहिले कता गएर तिर्खा मेटाउनु पर्छ’, उनले भनिन्, ‘पानी खोज्दै लखन्देही खोलादेखि घण्टौँ हिँडेर कोसौँ टाडाको छिमेकी गाउँसम्म पुग्छौँ ।’ गाउँमा पानीको समस्या हुँदा खानेपानी खोज्दै कोसौँ टाढाको छिमेकी गाउँसम्म पुग्छन् उनीहरु ।

गाउँको कुवा सुकेपछि उनीहरू दैनिक तीनदेखि चार घन्टाको पैदल हिँडेर करिब चार किलोमिटर तल लखन्देही खोलाको धमिलो पानी ल्याउने गरेको मनिषा मगरले बताइन् । हिउँद लागेपछि घरमा पालेको पशु चौपायाले पनि मुस्किलले पानी खान पाउने गरेको अर्का स्थानीय भक्तबहादुर पुलामीले गुनासाे गरे ।

नगरपालिकाले बर्सेनि खानेपानीको लागि भनेर रकम छुट्याएको भए पनि उक्त बजेट प्रयोग हुनसकेको छैन । विभिन्न कारणले गर्दा काम गर्न समस्या भएको लालबन्दी नगरपालिका–१२का वडा अध्यक्ष दुुर्गाबहादुर आलेले बताए ।

चुरेको भौगोलिक संरचना भएका कारण पनि आधारभूत सेवा पुर्‍याउन समस्या भएको आलेको भनाइ छ । पछिल्लो समय रुख बिरुवा कम हुँदै गरेको तथा मौसम परिवर्तनले समेत पानीको मुहान सुक्दै जाँदा समस्या देखिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड