खोटाङका कांग्रेस नेता धमाधम उम्मेदवारी घोषणा गर्दै — OSNepal

खोटाङका कांग्रेस नेता धमाधम उम्मेदवारी घोषणा गर्दै

LC (KTM) November 16, 2021 0

खोटाङ, ३० कात्तिक- नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।

जिल्ला तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेता आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन दौडधुप गरिरहेका छन् । अधिवेशनको नयाँ मिति तय भएपछि नेता तथा कार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् । जिल्ला सभापतिमा पूर्वराज्यमन्त्रीदेखि तीनपटकसम्म पार्टीको जिल्ला सभापति बनेका तथा गाउँपालिका प्रमुखसमेतको दाबी रहने देखिएको छ । वर्तमान जिल्ला सभापति नरेशकुमार श्रेष्ठ र पूर्वसभापति विष्णुकुमार राईले समूह बनाएर सामाजिक सञ्जाल उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि तीन कार्यकाल सभापति हुनुभएका राईलाई सभापति तथा उपसभापतिमा क्षेत्र नं १ का क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई उठाउने टुङ्गो लगाइएको छ । उपसभापतिको उम्मेदवार बन्नुभएका भट्टराईले यसअघिसम्म जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी नदिने बताउँदै आउनुभएको थियो ।

राईको समूहबाट सचिवमा ज्ञानेन्द्र जोशी, सुमनबाबु आचार्य र समीर राईले उम्मेदवारी दिनुहुने बताइएको छ । जोशी, आचार्य र राईमध्ये एकजनाले सचिव पदमा दाबी नगरेको खण्डमा महाधिवेशन प्रतिनिधि बनाइने र जिल्ला कार्यसमितिमा सङ्गठन विभाग प्रमुखको जिम्मा दिने सहमति भएको जनाइएको छ ।

पूर्वसभापति राईको समूहबाट सहसचिवको उम्मेदवारमा सार्जन राई र शालिकराम बञ्जारा रहनुभएको छ ।
तत्कालीन जिल्ला विकास समितिको पूर्वजिल्ला सभापतिसमेत रहनुभएका राईका नेतृत्वमा उम्मेदवारी दिने अन्य पदाधिकारीहरु छलफल गरेर सर्वसहमत टुङ्ग्याउने तयारी भइरहेको जनाइएको छ । यसैगरी जिल्ला पार्टी सभापतिको आकाङ्क्षीमा महासमिति सदस्य एवम् पूर्वराज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई, महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई देखिएका छन् ।

उहाँहरु आ–आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन कसरत गरिरहनुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुखसमेत रहनुभएका भूपेन्द्रकुमारले पनि आफ्नो उम्मेदवारी सभापतिमा हुने सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ । उहाँले आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणासमेत गर्नुभएको जनाइएको छ । सातौँ जिल्ला अधिवेशन आगामी मङ्सिर ६ गते हुने जनाइएको छ । कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर