चाडपर्व सकिएलगत्तै डोटीका किसानलाई गहुँ छर्ने चटारो सुरु — OSNepal

चाडपर्व सकिएलगत्तै डोटीका किसानलाई गहुँ छर्ने चटारो सुरु

LC (KTM) November 16, 2021 0

डोटी, ३० कात्तिक-दसैँ तिहारजस्ता मुख्य चाडपर्व सकिएलगत्तै जिल्लाका किसानहरुलाई गहुँ छर्ने चटारो सुरु भएको छ । घरका लालाबालासहित किसान अहिले गहुँ छर्नका लागि खेतबारीमा भेटिने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ सुरु भए पनि अहिले गणक घरमा कोही पनि मान्छे नभेटिने गरेका कारण किसानका खेतबारी गएर भए पनि तत्थ्याङ्क लिन थालेका छन् । कात्तिक पहिलो सातादेखि मङ्सिर तेस्रो सातासम्म यहाँका किसानले गहुँ छर्ने गर्दछन् । गहुँ छर्नका लागि किसानलाई भ्याइनभ्याइ भएपछि किसान खेतमै खाना पकाएर खाने र गहुँ छर्नमै व्यक्त हुने गरेको बडिकेदार गाउँपालिका–१ की रक्षा कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्व सकिएर किसानलाई गहुँ छर्न चटारो भएको छ, अहिले त खाना खानेसमेत फुर्सद छैन् ।” जिल्लामा कम्तीमा पनि २१ हजार ७०० हेक्टरमा गहुँखेती हुँदैआएको छ । सिँचाइ सुविधा अभाव, जङ्गली जनावरको प्रकोपलगायत समस्याका कारण कतिपय किसानले गहुँखेती लगाउन छाडेका छन् । जिल्लामा कम्तीमा पनि एघार हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । सिँचाइ सुविधा नभएका ठाउँमा अर्थात लेकाली र पाखो जमिनमा पनि बढी गहुँखेती गरिँदै आएको केआइसिंह गाउँपालिका–५ का किसान जहरसिंह खवासले जानकारी दिनुभयो ।

केन्द्रका अनुसार जिल्लामा आकासे पानीको भरमा बढी गहुँखेती गरिँदै आएको छ । गहुँको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्रले यहाँका विभिन्न ठाउँका किसानलाई निःशुल्क उन्नत जातको गहुँको मलबीउ वितरण गर्न थालेको छ । बीजवृद्धि कार्यक्रमअन्तर्गत गहुँको पकेट क्षेत्रका किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गरिएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर