आजदेखि लागू हुने गरी जीपको भाडादर निर्धारण — OSNepal

आजदेखि लागू हुने गरी जीपको भाडादर निर्धारण

LC (KTM) November 16, 2021 0

सिमकोट, ३० कात्तिक-हुम्लाको सर्केगाड गाउँपालिका र सरिसल्लाबाट सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । कोल्टी–सरिसल्ला सडकमा सञ्चालन हुने जीपले यात्रुबाट चर्को र मनपरी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको उपाध्यक्ष जोशी धामीले जानकारी दिनुभयो । यातायात व्यावसायी, चङ्खेली गाउँपालिका, सर्केगाड गाउँपालिकाका स्थानीयवासी र अन्य सरोकारवालासँग बैठक बसी भाडामा निर्धारण गरेको उहाँको भनाइ छ ।

सर्केगाड गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले सर्केगाड–सरिसल्ला र सरिसल्लाबाट बाख्रे, नेरघाट, खच्चा, बालुकुना, मकै, गल्फागाड, पुइम, कवाडी, धुलाचैर, पिलुचौर र कोल्टीसम्मको भाडा निर्धारण गरेको हो । आजदेखि लागू हुने गरेर सर्केगाड दुल्ली रु ५०, सर्केगाड– सरिसल्ला रु ३०० र सरिसल्लाबाट बाख्रे रु ५०, नेरघाट रु १००, खच्चा रु १५०, बालुकुना रु २००, मकै रु ३००, गल्फागाड रु ४००, पुइम रु ६००, कवाडी रु ६५०, धुलाचौर रु एक हजार, पिलुचौर रु एक हजार २०० र कोल्टी रु एक हजार ४०० सम्मको भाडा निर्धारण भएको छ ।

यससँगै सरिसल्लामा शाखा कार्यालय रहने गरी स्वामिकार्तिक–बूढीगङ्गा यातायात समिति समेतले गाउँपालिकाबाट अनुमति लिएको यातायात समितिका अध्यक्ष बलि रावतले बताउनुभयो । यसले अब यात्रुलाई सहज र भाडादरमा एकरूपता हुने भएको छ ।भाडा कार्यान्वयन र सुरक्षित यात्राका लागि इलाका प्रशासन, प्रहरी चौकी र गाउँपालिकाले अनुगमन गर्ने र तोकिएभन्दा बढी भाडा लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उपाध्यक्ष धामीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर