शहीद स्मारक ए डिभिजन लिगको खेल दशरथ रङ्गशलामा हुने — OSNepal

शहीद स्मारक ए डिभिजन लिगको खेल दशरथ रङ्गशलामा हुने

LC (KTM) November 17, 2021 0

काठमाडौँ-शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । यसअघि एन्फाले लिगको खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।

मङ्सिर ३ गतेदेखि सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ । उक्त खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ । लिगमा विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब रहेका छन् ।

त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब सहभागी छन् । उक्त प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर रु १०० र भीआइपीतर्फ रु ५०० मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । अघिल्लो सिजनको उपाधि भने मछिन्द्र क्लबले जितेको थियो । लिग विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर