बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास — OSNepal

बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास

LC (KTM) November 17, 2021 0

वाशिंगटन, ३० कात्तिक-अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन् । महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धा भन्दा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा छलफल केन्द्रित गरेका छन् । घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहेको सन्देश दिन नेताद्वय संयमित देखिएका छन् ।

“मैले पहिले भनेझैँ, यो चीन र संयुक्त राज्य अमेरिकाका नेताहरूको रूपमा हाम्रो जिम्मेवारी हो । हाम्रा देशबीचको प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भन्ने सुनिश्चित गर्नु हो, चाहे उद्देश्य होस् वा नहोस्,“ बाइडेनले सीलाई भनेका छन् । बाइडेनले सोमबार उनीहरूको भर्चुअल बैठकको सुरुमा सीलाई “केवल सरल, सीधा प्रतिस्पर्धा“ मात्र उपयुक्त हुने बताएका छन् ।

ह्वाइट हाउसले यो बैठकबाट धेरै अपेक्षा गरेको छैन केबल सम्बन्धलाई प्रगाढ बनाउन सामान्य कूटनीतिक र औपचारिक संयुक्त वक्तव्य जारी हुनसक्ने आँकलन गरेको थियो । यद्यपि दुवै नेताहरूले एक अर्कालाई पुराना मित्रका रूपमा लिँदै व्यक्तिगतस्तरबाटै द्वीपक्षीय सम्बन्ध थप हार्दिक बनाउन सकिने खालको आशय वार्तामा अभिव्यक्त गरेका छन् । यसको मूर्त रूप देख्न भने केही समय पर्खिन पर्ने सार्वजनिक टिप्पणी भइरहेका छन् । (रासस÷एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर