यी हुन् फिफा विश्वकपमा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्र — OSNepal

यी हुन् फिफा विश्वकपमा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्र

LC (KTM) November 17, 2021 0

काठमाडौं, १ मंसिर – आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका समूह विजेता छन् भने दुई टोली दक्षिण अमेरिकी छनोटको शीर्ष दुई रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको छ ।

युरोपेली छनोटको समूह ‘ए’ बाट सर्वियाले सिधै विश्वकपमा स्थान बनाउँदा पोर्चुगलले प्लेअफ खेल्नुपर्नेछ । समूह ‘बी’ बाट स्पेनले स्थान बनाउँदा स्विडेनले प्लेअफ खेल्ने पक्का भएको छ ।

यता, समूह ‘सी’ मा स्विजरल्याण्डले सिधै स्थान बनाउँदा इटालीले प्लेअफ खेल्नेछ भने समूह ‘डी’ बाट साविक विजेता फ्रान्स सिधै विश्वकपमा स्थान बनाएको छ । यस्तै समूह ‘इ’ बाट बेल्जियमले स्थान बनाउँदा वेल्स र चेक रिपब्लिकले प्लेअफमार्फत विश्वकपमा स्थान बनाउने मौका पाएका छन् ।

यता, समूह ‘एफ’ बाट डेनमार्कले सिधै विश्वकपमा स्थान बनाउँदा स्कटल्याण्डले प्लेअफ खेल्नेछ भने समूह ‘जी’ बाट नेदरल्याण्ड समूह विजेतासहित विश्वकपमा स्थान बनाउँदा उपविजेता टर्कीले प्लेअफ खेल्नेछ । यस्तै समूह ‘एच’ मा क्रोएशियाले विश्वकपमा स्थान बनाउँदा रसियाले प्लेअफ खेल्नुपर्ने भएको छ ।

यता, समूह ‘आई’ बाट इंग्ल्याण्ड समूह विजेता बन्दा पोल्याण्डले प्लेअफ खेल्ने भएको छ । यस्तै समूह ‘जे’ बाट जर्मनीले सिधै स्थान बनाउँदा नर्थ म्यासेडोनियाले प्लेअफबाट विश्वकप यात्राको मौका पाएको छ । अब, १० समूहका १० र दुई नेस्नल लिगका टोली गरी जम्मा १२ टोलीले प्लेअफमार्फत विश्वकप खेल्ने मौका पाउनेछन् ।

जसबाट तीन टोलीमात्र विश्वकपमा स्थान बनाउनेछन् । मार्चमा हुने प्लेअफको खेलमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ र जसको विजेताले विश्वकपमा स्थान बनाउनेछ । यता, एसिया र अमेरिकासहित अफ्रिकाको छनोट हुने टोलीको पक्का नहुँदा दक्षिण अमेरिकाबाट भने ब्राजिल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन् ।

विश्वकपमा स्थान सुरक्षित गरेका राष्ट्र : बेल्जियम, क्रोएशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, सर्विया, स्पेन, स्विजरल्याण्ड, ब्राजिल, अर्जेन्टिना, कतार (आयोजक)

प्लेअफ खेल्ने टोली : पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया, चेक रिपब्लिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर