OSNepal शनिबार, मंसिर १८ २०७८

अनि जितबहादुरलाई अकबरे खुर्सानी टर्राे लाग्याे . . .

अनि जितबहादुरलाई अकबरे खुर्सानी टर्राे लाग्याे . . .

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


अनि जितबहादुरलाई अकबरे खुर्सानी टर्राे लाग्याे . . .
Reading Time: 3 minutes

गोरखा, १ मंसिर – सेतै फुलेका कपाल, चाउरी पर्न सुरसार गरिसकेका गाला । कपाल सेतै फुले पनि गालामा मुजा पर्न थालिसके पनि उनकाे शरीरले भने आराम पाएका छैनन् । उनी अर्थात गाेरखा गाउँपालिका-४ फुजेलका ५४ वर्षीय जितबहादुर भट्ट ।

उनी अचेल बिहान उज्यालाे भएदेखि साँझैसम्म खुर्सानी बारी मै हुन्छन् । व्यवसायीक रुपमा खुर्सानी खेती गरेका उनले सोचेजति आम्दानी गर्न नसकेपछि निराश बनेका छन् । तर पनि लगानी निकै भइसकेकाले उनी विकल्प बारे साेच्न पनि सक्दैनन् । भट्ट भुतपूर्व सैनिक हुन् । २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भएपछि उनको बसोबास गोरखा नगरपालिका- १३ देउराली रामशाह टोलमा भयो ।

सेनाबाट निवृत्त भएपछि उनलाई सामाजिक काममा लाग्न मन लाग्यो । रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष पनि भए । गोरखाकै मझुवामा रहेको गोरखकाली रबर उद्योग बचाउ समितिमा ६ वर्षसम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गरे । रिर्टायर जीवनपछि सामाजिक काममा सक्रिय रहेका भट्टले व्यपार पनि सँगसँगै गर्दै थिए । ‘डेरीको व्यबसाय थियो । २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले व्यपार खस्कियो । केही लगानी डुब्यो’, उनी भन्छन् ।

भूकम्प र नाकाबन्दीले व्यापारबाट पनि घाटा व्यहोरेका उनले त्यसपछि कृषक बन्ने सोच बनाए । अनि २०७४ सालमा पैतृक थलो फुजेल फर्किए । व्यापारबाट असफल भएका भट्टले सुरुमा बाख्रा पाले । ‘म गाउँ फर्किएपछि कालिका कृषक समूहले संचालन गरेको बाख्रा फार्म किनेँ । त्यो पहिले व्यवस्थित रुपमा चल्न सकेको थिएन’, उनले भने ।

बाख्रापालनमा पनि करिब १४ लाख लगानी गरिसकेको उनी सुनाउँछन् । २२ वटा बाख्राबाट व्यवसाय थालेका उनको व्यवसाय फस्टाउँदै थियो । तर, एकै पटक ५३ वटा बाख्रा मर्याे । ‘बाख्रा पाल्न थालेको बर्षदिन नहुँदै एकै पटक ५३ वटा बाख्रा मरेपछि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्याे, ’ उनी सुनाउँछन् ।

बाख्रापालनमा पनि सोचे जस्तो नभएपछि उनले फेरि सोच बदले । व्यवसायीक खुर्सानी खेती सुरु गरे । अहिले उनले एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिरहेका छन् । आफ्नो पैतृक १६ रोपनी र भाडामा लिएको एक सय एक रोपनी जग्गामा उनको अकबरे खुर्सानी खेती छ । उनी भन्छन्, ‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु । मेरो जानकारीमा भएसम्म नेपाल कै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो ।’

अनि, जीतबहादुरले अकबरे खुर्सानीबाट टर्राे स्वाद पाए . . .

व्यापार र बाख्रापालनबाट घाटा व्यहोरेका उनले खुर्सानी खेती सुरु गर्ने बेला सोच्थे, खुर्सानीको बजार राम्रो छ । व्यवसायीक खुर्सानी खेती गरेपछि पहिले व्यहोरेको घाटाको ऋण तिरौँला ।

पिरो अकबरे खुर्सानीबाट मनग्य आम्दानीको गुलियो स्वाद लिने आशामा उनले एकै पटक एक सय १७ रोपनी जग्गामा ७५ हजार बिरुवा लगाए । २०७६ सालदेखि खुर्सानी खेती गर्ने चाँजोपाँजो मिलाएका उनले गत भदौबाट मात्रै उत्पादन सुरू गरे । तर, पिरो खुर्सानी बेचेर गुलियो आम्दानी लिने आशा गरेका उनले टर्राे स्वाद पाए । अर्थात् सोचे जति आम्दानी गर्न सकेनन् । ‘बेमौसमी वर्षातले धेरै ठूलो नोक्सानी भयो । ७५ हजार बिरुवा लगाउँदा २५ हजारभन्दा बढी पानीले खत्तम बनायो । यो बेलासम्म ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ, ’ उनी मौसमका कारण घाटा व्यहोरेको भन्दै दुखेसो पोख्छन् ।

भट्ट आफू ऋणमा डुबे पनि उनले अहिले दैनिक १० जनासम्मलाई रोजगारी दिएका छन् । उनकोमा काम गर्न स्थानीय महिलाहरू दैनिक आउने गर्छन् । उनीहरूले दैनिक ६ सय रुपैयाँ पाउने भट्टले बताए । तर, सोचे जस्तो उत्पादन लिन नसक्दा ५१ लाख रुपैँया ऋण लागेकाे उनले बताए ।

भन्छन्- सरकारको साथ पाए हरेश खान्नँ

एक पटक रोपेको खुुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्छ । एक बर्षमा दुईदेखि चार पटकसम्म टिप्न मिल्छ । अहिलेसम्म उनले पाँच क्विटल मात्र खुर्सानी बिक्री गरेका छन् । बजारको भने समस्या छैन् । अहिले दुई सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ । ‘वर्षातले बोट सखाप बनाएर यो सिजनमा उत्पादन भएन त्यसैले सधैँ यस्तै हुन्छ कि भन्ने डर भने लाग्छ,’ उनले भने ।

उनको मनमा लगानी डुब्ने थाेरै डर भए पनि सँगसँगै अहिलेसम्म डुबेका सबै लगानी उठाउने आशा पनि छ । उनले यस क्षेत्रलाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि बनाइरहेका छन् । भन्छन्, ‘अहिलेसम्म मैले कही कतैबाट अनुदान, सहयोग लिएको छैन् । अब सरकारबाट केही सहयोग पाएँ भने यसलाई खुर्सानीको पकेट क्षेत्र बनाउँछु ।’

खुर्सानी खेतीमा अनुदान पाउने आशामा वडा, पालिका, प्रदेश सरकार, ज्ञान केन्द्र, संघीय सरकारसम्म पुगिसके । तर, बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले दिएको ८५ हजार बाहेक कुनै अनुदान पाएका छैनन् । सबै ऋण लिएर काम गरेपछि सोचेजस्ते उत्पादन नहुँदा समस्या परेको उनी बताउँछन् । सरकारले व्यवसायीक कृषि गर्नेलाई अनुदान दिने, मोडल फार्म घोषणा गर्ने, पुरस्कार दिने गर्छ । तर, सरकारले दिने गरेको सहुलियत भने सत्ता र शक्तिको आसेपासेले दुरुपयोग गर्दा वास्तविक किसानले नपाउने उनको गूनासो छ । ‘अहिले व्यवसाय सुरू गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन् । वडादेखि केन्द्र सरकारसम्म धाउँदा धाउँदा थाकिसकेँ । तर, अझै कतैबाट सहयोग पाईन्छ कि भन्ने आश छ,’ उनी भन्छन् ।

अत्याधिक पिरो हुने हुँदा बजारमा अकबरे खुर्सानीको माग बढी छ । त्यसैले सरकारी निकायबाट सहयोग पाए यस व्यवसायलाई पकेट क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने उनको लक्ष्य छ । भन्छन्, ‘सरकारी निकायबाट पनि साथ सहयोग मिल्यो भने हरेस खान्नँ । खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने गरी काम गर्छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड