वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्नु आजको आवश्यकता : गल्याङ नगरपालिका प्रमुख — OSNepal

वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्नु आजको आवश्यकता : गल्याङ नगरपालिका प्रमुख

LC (KTM) November 17, 2021 0

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका २ बटुवामा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको आयोजना परेपछि स्थानीय कृषकहरु उत्साहित भएका छन् । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत रहेको नेपाल लाइभ स्टक इनोभेसन आयोजना (एनएलएसआइपी) को बाट दुई करोड बढिको योजना परेपछि स्थानीय कृषक उत्साहित भएका हुन् ।

उपआयोजना अन्तर्गत स्थानीय जनकल्याण कृषि तथा पशुपालन समूहले बुधबार गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले आयोजनाबाट आफुहरु धेरै लाभान्दित भएका बताए । बटुवामा चार वर्ष अगाडि दुध किनेर खाने गरेकोमा अहिले दैनिक पाँच सय ५० लिटर दुध विक्री हुने गरेको किसानको भनाई छ । गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गरेपछि हौसिएर उन्नत जातका गाई भैंसी पालनमा लागेका किसानहरु अहिले नेपाल लाईभ स्टकको आयोजना परेपछि थप उत्साहित भएका हुन् । दुई करोड ३९ हजार ६ सय ६७ रुपैयाँको आयोजनाका लागि लाईभ स्टकको तर्फबाट मात्रै एक करोड रुपैयाँ अनुदानको रुपमा बटुवामा भित्रिएको हो ।

सार्बजनिक सुनुवाई कार्यक्रममा दिइएको जानकारी अनुसार यस मध्ये ४० लाख ३९ हजार ६ सय सतसट्ठी रुपैयाँ मात्रै स्थानीय जनकल्याण कृषि तथा पशुपालन समूहका किसानको तर्फबाट लगानी हुनेछ । यस्तै, ६० लाख रुपैयाँ गरिमा विकास बैंकबाट सस्तो व्याजमा ऋणको व्यवस्था गरिएको छ । बाँकी एक करोड रुपैयाँ नेपाल लाइभ स्टक इनोभेसन आयोजना (एनएलएसआइपी) ले अनुदानको रुपमा उपलब्ध गराउनेछ । सार्बजनिक सुनुवाई कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्थानीय युवाहरु बिदेशमा रोजगारीका लागि जानु पर्ने अवस्थाको अन्त्य गर्न आफुले चाहेको बताउनुभयो ।
उहाँले राजनीतिक दलका किताबका पानामा मात्रै जनवादका कुराहरु राखेर नहुने भन्दै त्यसलाई व्यवहारमा उतार्न किसानसामु पैसा जानुपर्ने बताउनुभयो ।

गल्याङ नगरपालिकाले किसानलाई उत्थान गर्नका लागि विभिन्न योजनाहरु एक पछि अर्को गर्दै ल्याइरहेको भन्दै नगरप्रमुख अधिकारीले काम गर्ने किसानहरुका लागि बजेटको खाँचो नहुने बताउनुभयो । उहाँले राष्ट्रिय दुग्ध विकास बोर्डमा कर्मचारी राख्ने ठाउँ मात्रै गराइएको भन्दै नेपाल भर दुधको क्षेत्रमा विकास गर्न संघीय सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘हामीले गल्याङलाई दुधको हबको रुपमा विकास गर्न चाहेका छौं । यहाँका पाँच हजार परिवारका किसानले दैनिक पाँच लिटर दुध उत्पादन गरेमा पनि ठूलो उत्पादन हुनेछ ।’

दुधमा किसानलाई दिइएको १५ रुपैयाँ अनुदानको व्यवस्था हटाउन धेरै तिरबाट दबाब झेलिरहेको भन्दै उहाँले अनुदान बरु बढाउने तर नघटाउने स्पष्ट पार्नुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले आयोजनाबाट प्राप्त अनुदानलाई सही रुपमा कार्यान्वयन गर्न आयोजना सफल पार्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले दुध उत्पादन गर्न चाहेका तर नसकेका किसानहरुलाई सम्झिएकोमा गर्व गर्नुपर्ने भन्दै त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

गरिमा विकास बैंक, गल्याङ शाखाका प्रबन्धक चिरञ्जीवी अर्यालले आयोजना सफल पार्न आफ्नो तर्फबाट सबै सहयोग हुने बताउनुभयो । गल्याङ नगरपालिका वडा नम्बर २ का सदस्य लालु घर्तीले आफ्नो वडामा आयोजना पर्नु किसानका लागि गौरबको कुरा भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका जनकल्याण कृषि तथा पशुपालन समूहका अध्यक्ष भिमप्रसाद भण्डारीले सहभागीले उठाएका प्रश्नको जवाफ दिदै आयोजनासँग भएको सम्झौता अनुसार आयोजना सफल पार्ने बताउनुभयो ।

कार्यक्रममा समूहका सचिव छविलाल भण्डारीले स्विकृत बजेट विवरणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जका तर्फबाट एफएमका स्टेशन म्यानेजर केपी खनालले गर्नुभएको थियो । आयोजना स्वीकृत भएपछि दुई पटक सार्बजनिक सुनुवाई गर्नुपर्ने प्रक्रिया अनुसार पहिलो पटक सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर