ठेकेदारको लापरबाहीले पुल अलपत्र, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

ठेकेदारको लापरबाहीले पुल अलपत्र, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) November 18, 2021 0

उदयपुर, १ मंसिर – उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा- ४ बसाहा चिचाई टोल र वडा- ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो ।

सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ । रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन । निर्माण कम्पनीले वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । अब स्ल्याब मात्र राख्न बाँकी छ ।

तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए । निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछ’, उनले भने । सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो ।

त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकनले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर