नेपाल एयरलाइन्सको हुम्लामा हप्ताको तीन उडान — OSNepal

नेपाल एयरलाइन्सको हुम्लामा हप्ताको तीन उडान

LC (KTM) November 18, 2021 0

उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् ।

हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ । सीता एयरलाइन्सले बिहानदेखि दिउँसो चार बजेसम्म उडान भर्दा सिमकोट विमानस्थलमा यतिबेला यात्रुको चाप घटेको हो । समिट र तारा एयरलाइन्सले दैनिक दुईसम्म उडान भर्ने गरेका छन् ।

जिल्लामा अभाव भएको हवाई उडानमा निजी एयरलाइन्सले उडान तालिका बढाउँदा जिल्लाबाहिर जाने हुम्ली यात्रुलाई सहज भएको छ । दसैँ तिहार मनाउन घर पुगेका विद्यार्थीसहित स्वास्थ्योपचार तथा काम विशेषले जिल्लाबाहिर जाने यात्रुलाई थप सहज भएको हो । सिमकोट विमानस्थलमा दैनिक सयौँको सङ्ख्यामा भीडभाड हुने गरे पनि दुईदिन यतादेखि यात्रुको चाप निकै घट्दै आएको छ ।

नेपाल एयरलाइन्सको हुम्लामा हप्ताको तीन उडान

यस्तै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लाका लागि आफ्नो उडान थप गरेको छ । हुम्लासहितका विमानस्थलमा यात्रुको चाप वृद्धि भएकाले उडान सङ्ख्या थप गरेको जानकारी प्राप्त भएको छ । नेपाल एयरलाइन्सले हुम्लाका लागि हप्तामा तीनवटा सहुलियत उडान थप गरेको जिल्ला शाखाका प्रमुख बलबहादुर सुनारले बताउनुभयो । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्ने भएको प्रमुख सुनारले बताउनुभयो । नेपाल एयरलाइन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान भर्ने भएको उहाँले बताउनुभयो ।

सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एयरलाइन्सको रु छ हजार ९१० छ भने निजीस्तरका तारा र सीता एयरले रु छ हजार ३० र समिट एयरले रु छ हजार १३० लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर