निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र — OSNepal

निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र

LC (KTM) November 18, 2021 0

काठमाडौँ निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ ।

भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०÷७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो । सडक धुलाम्मे हुँदा आवतजावत गर्न समस्या भएको कमलविनायक–नगरकोट सडक निर्माण दबाब समितिका संयोजक राजकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले समय–समयमा निर्माण सामग्री छरेजस्तो गरेपनि काम सकाउन खोजेको छैन ।

मन्त्रालय वा विभागको भ्रमणमा निर्माण सामग्री र जनशक्ति बढाइने गरिए पनि अरु समयमा निर्माणको गति सुस्त छ । उहाँले भन्नुभयो, “बेलाबेलामा अलिअलि गरेजस्तो गरेर जनताको आँखामा छारो हाल्ने बाहेक अरु केही भएको छैन ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार नगरकोट सडकको स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले यो सडक दुई महिनाभित्रमा सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिनुभयो । अझै पनि ढिलाइ भएमा अवधि थप नहुने उहाँको भनाइ थियो ।

एकदुई महिनाभित्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति, उपकरण र निर्माणसामग्री पर्याप्त हुनुपर्ने भक्तपुर–नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चिसो सुरु भइसकेकाले मौसम अनुकूल हुँदा र निर्माण कम्पनीले व्यवस्थापन राम्रो गर्दा मात्रै काम गर्न सकिन्छ । उहाँले भन्नुभयो, “अब एक दुई महिनामा सक्न अहिले देखिएको व्यवस्थापनले मात्रै पुग्दैन्, त्यसमा थप्नुपर्छ ।”

योजनाले केही दिन पहिले मात्रै निर्माण कम्पनीसँग कार्ययोजना माग गरेको थियो । निर्माण कम्पनीले एक महिनामा सम्पन्न गर्ने गरी कार्ययोजना मन्त्रालय, विभाग र योजनालाई दिएको छ । सडक निर्माण लामो समयसम्म नसकिएको र जनगुनासो आइरहेकै कारण आफू एकडेढ महिनादेखि नियमित रूपमा निर्माणस्थलमा आइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माणमा देखिएका समस्याका विषयमा समेत योजनाले निर्माण कम्पनीलाई घच्घचाइरहेको छ । उहाँले भन्नुभयो, “केही उपकरण थपेको पनि छ, कम्पनीले निर्माण सामग्री नियमित आउँछ र काम गर्छु भनेको छ ।”

नगरकोटका माथिल्लो भागमा जाडो समयमा काम गर्न सकिँदैन । तेलकोट–नगरकोटखण्डमा तल्लो भागभन्दा तापक्रम कम हुने भएकाले आगामी महिनामा काम गर्न नसकिने हुनसक्ने प्रमुख श्रेष्ठले बताउनुभयो । तापक्रम कम हुँदा कालोपत्र गर्दा गुणस्तर कम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तापक्रम पुग्यो भने मात्रै यो महिनामा काम गर्न सकिन्छ ।” आफूले नियमित रूपमा निर्माणस्थलमा आएर गुणस्तरमा समस्या देखिएमा यहाँ छ भनेर देखाएर काम रोक्न भनेको प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माण सामग्री यहाँ झारेपछि आफूले हुँदैन भन्दा लगानी खेर जाने भएकाले उत्पादन हुने ठाउँमा पुगेर नै हेर्छु उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ल्याएर गुणस्तर नभएपछि समय खेर जाने र जनशक्ति पनि त्यसै बस्नुपर्छ ।”

अहिलेसम्म निर्माणमा ढिलाइ हुनुको सबैभन्दा प्रमुख कारण निर्माण कम्पनीको ढिलासुस्ती नै हो । अहिले सबैतिर निर्माणस्थल खाली भएकाले अरु समस्या नभएको प्रमुख श्रेष्ठको भनाइ छ । योजनाले कतै निर्माणस्थलका कारणले समस्या आएमा तत्काल समाधान गरिने निर्माण कम्पनीलाई भन्दै आएको छ । उहाँले भन्नुभयो, “विगतमा जङ्गलको रुख काट्नेलगायत समस्या थियो अहिले सामाधान भइरहेको छ ।” जिल्ला प्रशासन कार्यालय, भक्तपुर र चाँगुनारायण नगरपालिकाले पनि निर्माणमा आवश्यक सहयोग गरेको छ । निर्माण कम्पनीलाई कार्यालयका कारणले ढिला नहुने भनी विश्वास दिलाइएको उहाँले बताउनुभयो । कम्पनीले काम गर्दा गुणस्तरमा समस्या देखिएमा रोक्न भनिए पनि योजनाबाट इञ्जिनीयर, सव–इञ्जिनीयर नआएर काम नरोकिने उहाँले बताउनुभयो ।

कमलविनायकको भत्केको पाटीबाट नगरकोटसम्म १५ दशमलव सात किमी छ । माथिल्लो भागमा झण्डै चार किमी सडक कालोपत्र गर्न पूरै बाँकी छ । नौ किमीमा एक तहको कालोपत्र सकिएर अर्का तहको कालोपत्र गर्न बाँकी छ । दुई दशमलव ७५ किमी सडकमा दुई तहको कालोपत्र गर्नुपर्नेमा एक तह सकिएर अर्को तह गर्न बाँकी छ । एक तह कालोपत्र भइसकेर पनि पटकपटक समस्या आइरहेकाले त्यहाँ मर्मत भइरहेको छ । सडकको चौडाइ दुई लेन अर्थात सात मिटर हुने गरी कालोपत्र भइरहेको छ । सडकको छेउछेउमा पानी जानका लागि ड्रेन बनाइएको छ । सडकमा पैदलयात्रुमार्ग भने निर्माण भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर