खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि चार जना मैदानमा — OSNepal

खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि चार जना मैदानमा

LC (KTM) November 18, 2021 0

खोटाङ -खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि चार नेताले उम्मेदवारी घोषणा गरेका छन् । आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनका लागि पूर्व राज्यमन्त्री सर्वधन राई, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य रबीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका हुन् । सभापतिका आकांक्षी चार नेताले आफ्नो प्यानल खडा गरेर फरक–फरक समयमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।पूर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबीप्रकाश सभापति देउवा नजिक मानिन्छन् । पूर्व सभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौलासँग नजिक मानिन्छन् ।

पूर्व सभापति विष्णुकुमार आफ्नो प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा सार्जन राई र सालिकराम बञ्जरालाई उठाउने तयारीमा छन् ।यस्तै, पूर्व राज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई, सहसचिव ध्यानबहादुर राईको नाम टुंगिएको छ । महाधिवेशन प्रतिनिधि भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्याम राई र सहसचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रबीप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ ।

पूर्व राज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सहसचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीति स्वरूप केही पद रिक्त राखिएको स्रोतले बताएको छ । दुवै प्यानलको सहसचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश)को अधिवेशनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग एलायन्स गर्ने योजनासहित पद रिक्त राखिएको पूर्व राज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेदवार बनेका नेता रोजन राईले बताए ।

क्षेत्रीय अधिवेशनपछि अन्य टिमसँग मिल्ने अवस्था आए सहकार्य गरिने कांग्रेस जन्तेढुंगा गाउँ कार्य समिति सभापति बाजिन्द्र विष्टले बताए । ‘मिल्ने अवस्था आए रिक्त पदमा अन्य टिमका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ,’ भूपेन्द्रको प्यानलमा रहेका विष्टले भने, ‘अन्य टिमसँग सहकार्य हुने/नहुने टुंगो क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर