OSNepal शनिबार, मंसिर ११ २०७८

भारतले पाउँदैछ पहिलो समलिंगी न्यायाधीश, सुरक्षा खतरा निम्त्याउने भन्दै यस अघि पछि हटेको थियो भारत

भारतले पाउँदैछ पहिलो समलिंगी न्यायाधीश, सुरक्षा खतरा निम्त्याउने भन्दै यस अघि पछि हटेको थियो भारत

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


भारतले पाउँदैछ पहिलो समलिंगी न्यायाधीश, सुरक्षा खतरा निम्त्याउने भन्दै यस अघि पछि हटेको थियो भारत
Reading Time: 2 minutes

नयाँ दिल्ली, २ मंसिर- भारतमा सर्वोच्च अदालतको एक समितिले एक समलिंगी वकिललाई न्यायाधीशका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीशले नेतृत्व गरेको समितिले वरिष्ठ अधिवक्ता सौरभ किरपाललाई दिल्ली उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो । उनी न्यायाधीश भएमा लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यू) को अधिकारका लागि कोसेढुंगा सावित हुनेछ । न्यायाधीहरुको सिफारिस पछि केन्द्र सरकारले औपचारिक अनुमोदन गर्नुपर्नेछ । त्यसपछि उनको नियुक्ति प्रकृया सुरु हुनेछ ।प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले किरपालको नाम अनुमोदन गर्ने निश्चित देखिएको छ ।

एउटा एतिहासिक फैसलामा सर्वोच्च अदालतले सन् २०१८ मा समलिंगीबीच हुने यौन सम्बन्धलाई मान्यता दिएको थियो । फैसलालाई एलजीबीटीक्यू समूहले आफ्नो ठूलो विजय भनेको थियो । भारतमा लैंगिक अल्पसंख्यक समूहमाथि अझै पनि विभेद हुने गरेको छ । आफूहरु बारम्बार अपमानित हुने गरेको यो समूहमा आबद्ध व्यक्तिहरुले गुनासो गर्दै आएका छन् ।

अल्पसंख्यकमाथि भइरहेको पूर्वाग्रह रोक्न र रोजगार तथा स्वास्थ्य उपचारमा उनीहरूको पहँुच बढाउन विशेष कानुन आवश्यक भएको अभियन्ताहरूले बताउँदै आएका छन् ।

आफ्नो अलग पहिचानका कारण न्यायाधीशमा नियुक्ति नपाएको किरपालले गुनासो गर्दै आएका छन् । सन् २०१८ मा पनि सरकारले किरपाललाई न्यायाधीशमा नियुक्त गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा सरकार निर्णयबाट पछि हटेको थियो । किरपालका पार्टनर विदेशी नागरिक भएको र यसले सुरक्षा खतरा निम्त्याउने भन्दै सरकार निर्णयबाट पछि हटेको थियो ।

सन् २०२० मा न्यायाधीशका लागि आफ्नो नाम सिफारिसबारे उनले आफू दुविधामा रहेको बताए पनि अन्त्यमा सहमति जनाएका थिए । आफू एलजीबीटीक्यू समुदायका लागि रोलमोडल बन्न सक्ने उनले बताएका थिए । सो निर्णयको उनका सहकर्मीले स्वागत गरेका थिए ।

पूर्वमहान्यायधिवक्ता विकास सिंहले किरपाललाई सिफारिस गर्ने सर्वोच्चको निर्णयको स्वागत गरेका छन् । दिल्ली उच्च अदालतको न्यायाधीशका लागि किरपाल चम्किलो र योग्य पात्र भएको वरिष्ठ वकिल गीता लुथ्राले बताएकी छिन् । ‘किरपालको यौन पार्टनर छनौटले उनलाई दिल्ली उच्च अदालतको न्यायाधीशका लागि गरिएको सिफारिससँग कुनै सरोकार राख्दैन,’ उनले भनेकी छिन् ।

नयाँ दिल्लीको एउटा कलेजमा भौतिक शास्त्र अध्ययन गरेका उनले अक्सफोर्ड विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन् । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट पनि स्नातकोत्तर गरेका छन् ।

सन् १९९० मा नयाँ दिल्ली फर्किनुअघि उनले जेनेभामा राष्ट्रसंघको कर्मचारी भएर काम गरेका थिए । भारत फर्किएपछि संवैधानिक, व्यवसायिक, नागरिक र अपराधलगायतका क्षेत्रमा अनगिन्ति मुद्दा हेरेका छन् ।

उनले पूर्वमहान्यायाधिवक्ता मुकुल रोहत्गीको सहायक भएरसमेत काम गरेका थिए । त्यस क्रममा किरपालको सीप र कानुनसम्बन्धी ज्ञान बढेको पूर्वमहान्यायधिवक्ता विकास सिंह बताउँछन् । किरपालका बाबु बीएन किरपाल भारतको प्रधान न्यायाधीश भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड