OSNepal शनिबार, मंसिर ११ २०७८

एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान

एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान
Reading Time: 2 minutes

काठमाडौँ, २ मङ्सिर- नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा रु सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ र १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गर्नुभएको हो । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ ।

सो होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ । थप प्रतिनिधिका लागि व्यवस्थापन गरिने जनाइएको छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनीत हुनेछन् ।“यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौँ”, रिमालले भन्नुभयो । उहाँका अनुसार गत आठौँ महाधिवेशनमा करिब रु दुई करोड २५ लाख र नवौँ महाधिवेशनमा रु चार करोड २५ लाख खर्च भएको थियो । गत असोजमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा छ हजार चार सय ३५ प्रतिनिधिको उपस्थिति हुँदा करिब रु पाँच करोड खर्च भएको थियो । यी तीन महाधिवेशनको अङ्कलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग सात करोड ५० लाख होला भन्ने आँकलन गरिएको नेता रिमालले बताउनुभयो ।

एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरी पार्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गरिरहेको छ । एमालेले प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ । एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार ४५३ छ । नेता रिमालले भन्नुभयो, “यसरी सदस्यबाट न्यूनतम् रकम लिएर महाधिवेशन गर्ने यो नेपालमा रहेका पार्टीका लागिसमेत उदाहरणीय अभियान हुनेछ भन्ने हामीले ठानेका छौँ । यसले पारदर्शितालाई पनि टेवा पुग्ने अपेक्षा गरेका छौँ । हामीले यो पटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौँ, रसिद छापेका छैनौँ । यो प्रयोग हामीले नयाँ गरिरहेका छौँ ।”

प्रतिनिधि चयन अन्तिम चरणमा-महाधिवेशनका लागि हालसम्म ६७ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् । एमाले केन्द्रीय कार्यालयमा बिहीबार साँझसम्म प्राप्त अनौपचारिक विवरणअनुसार अब १० जिल्लामा मात्रै प्रतिनिधि चयन हुन बाँकी छ । कैलाली र बझाङमा प्रतिनिधि चयनमा विवाद भएर रोकिएको छ भने बाँकी जिल्लामा प्रतिनिधि चयनको कार्य भइरहेको छ ।

हालसम्म ६७ जिल्लाबाट अहिलेसम्म एक हजार १८२ जना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये खुलाबाट ७४०, महिला ३०४, उत्पीडित १३६ र २ जना मजदुरबाट चयन भएका छन् । एमालेले पार्टीका हरेक निकायमा ३३ प्रतिशत महिला सुनिश्चित गरेसँगै प्रतिनिधि छनोटमा महिला उपस्थिति उल्लेख्य रहेको छ । एमाले सङ्गठन विभागले प्रतिनिधिको अभिलेखीकरण गरिरहेको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनोट भएको छ भने प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी र रौतहट तथा सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलालीमा प्रतिनिधि छनोटले पूर्णता पाउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड