आज मध्यराति सम्पन्न हुँदै छ सामाचकेवा पर्व — OSNepal

आज मध्यराति सम्पन्न हुँदै छ सामाचकेवा पर्व

LC (KTM) November 18, 2021 0

सिरहा, २ मसिंर-सिरहासहित तराई क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रूपमा रहेको सामाचकेवा पर्व बिहीबार मध्यरात्रीमा सम्पन्न हुनेछ ।सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । कात्तिक शुक्ल द्वितीया तिथि अर्थात कात्तिक पूर्णिमाको मध्यरातिमा सम्पन्न हुने र यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् ।

काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भने गरेको अमिता कुमारी यादबले जनाए । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमि आएको महशुस गर्न थालिएको छ । भविष्य पुराणमा उल्लेख गरिएअनुसार सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरूसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् ।

भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरूलाई चरा बन्ने श्राप दिएको बताइन्छ । सामाको भाइ साम्बले जब यी विषयहरूमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिहरूलाई श्रापबाट मुक्त गरे ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा भ्रमण गरी पर्व मनाउँछन, उसको दाजुभाइ दीर्घायु हुने वरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोस्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रूपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाउने गरेको शिवो देवी यादव बताउँछिन् ।

यसका साथै बृन्दावन जंगल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरूलाई विभिन्न रङले रंग्याइन्छ । यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ ।
त्यसै क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् । समा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।

छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि रहेको उर्मिला यादवले बताए ।

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् ।

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।

डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीतिसंवाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ ।

भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । सामाचकेवाको गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर