सशस्त्रद्वारा भारतबाट अवैधरुपमा ल्याएका लाखौँका सामान बरामद — OSNepal

सशस्त्रद्वारा भारतबाट अवैधरुपमा ल्याएका लाखौँका सामान बरामद

LC (KTM) November 18, 2021 0

काठमाडौँ, २ मङ्सिर -सशस्त्र प्रहरी बल नेपालको टोलीले आज विभिन्न जिल्लाबाट सात लाखबढी मूल्य बराबरका चोरी पैठारीका सामान बरामद गरेको छ । उक्त टोलीले सर्लाही, बारा र महोत्तरीबाट सो सामान बरामद गरेको हो । टोलीले करिब रु चार लाख १४ हजार बराबरको चोरीपैठारीको किराना सामान तथा औषधि महोत्तरीको सम्सी गाउँपालिका–६ बाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

भारतबाट अवैधरुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीका प्रहरी निरीक्षक भीमबहादुर रानाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराबाट प्रहरी निरीक्षक गणेशबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले आजै करिब रु एक लाख २६ हजार बराबरको चोरीपैठारीका लत्ताककपडा बरामद गरेको छ । बीआर ०५ एफ ८१८९ नम्बरको भारतीय मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही चोकबाट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान तथा मोटरसाइकल भन्सार कार्यालय वीरगञ्जमा बुझाएको छ ।

उता सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–५ स्थित नरेशखोर इलाकाबाट आजै करिब रु दुई लाख नौ हजार बराबरको १०० क्युफिट सालको काठ पनि सशस्त्रको टोलीले बरामद गरेको छ । उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र वन विकास परियोजनाबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर