एमालेको महाधिवेशनकेन्द्रित विशेष बुलेटिन प्रकाशन — OSNepal

एमालेको महाधिवेशनकेन्द्रित विशेष बुलेटिन प्रकाशन

LC (KTM) November 19, 2021 0

काठमाडौँ, ३ मङ्सिर -नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो पार्टीको केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई–बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ सो पार्टीको आधिकारिक मुखपत्र हो ।

विशेष बुलेटिनमा पार्टीका शीर्षनेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशनकेन्द्रित गतिविधि समेटेर महाधिवेशन अवधिभर हरेक दिन साँझ प्रकाशन हुने विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । एमालेले पार्टीको आधिकारिक फेसबुकबाट दैनिक शीर्षनेताको प्रत्यक्ष भिडियो अन्तर्वार्ता पनि आरम्भ गरेको छ भने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व र कलाकारबाट महाधिवेशनलाई प्राप्त भिडियो सन्देशको प्रसारण गर्दै आएको छ । केन्द्रीय सदस्य थापाले प्रचारकै क्रममा यही मङ्सिर ७ गते युवा सङ्घ नेपाल, अनेरास्ववियु, खेलकुद महासङ्घलगायत सङ्गठनको आह्वानमा काठमाडौँबाट चितवनसम्म र देशैभरि मोटरसाइकल ¥याली गरिने जनाउनुभयो ।

यसैगरी पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता एवं तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको जीवनी र योगदानमा आधारित भिडियो निर्माण गरिने भएको छ । साथै विभागले देशका महत्वपूर्ण स्थानमा प्रचारका डिजिटल डिस्प्ले, बोर्ड राख्ने तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ पत्रकार तथा बुद्धिजीवीसँग अन्तक्र्रिया गर्नेलगगायत योजना तय गरेको छ । सो पार्टीले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजत्वमा महाधिवेशन प्रचार समिति गठन गरेको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनामा हुँदैछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर