OSNepal सोमबार, मंसिर २० २०७८

कोभिडले सुस्ताएको तिलोत्तमाको बृहत् सरसफाइ अभियान फेरि अघि बढ्याे

कोभिडले सुस्ताएको तिलोत्तमाको बृहत् सरसफाइ अभियान फेरि अघि बढ्याे

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


कोभिडले सुस्ताएको तिलोत्तमाको बृहत् सरसफाइ अभियान फेरि अघि बढ्याे
Reading Time: < 1 minute

बुटवल, ३ मंसिर-कोभिड-१९ का कारण सुस्ताएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बृहत् सरसफाइ अभियान फेरि सुरु भएको छ । तिलोत्तमाले समुदायलाई परिचालन गरी बृहत् नगर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

यही अभियानकै क्रममा नगरलाई खुला शून्य पोलिथिनयुक्त नगरसमेत घोषणा गरिसकिएको छ । तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाइ अभियान ७८औं शृंखला पुगेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

कोभिड संक्रमण घट्दै जान थालेपछि समुदायस्तरमा हुने सरसफाइमा नगरबासी पुनः सक्रिय हुन थालेका हुन् । तिलोत्तमाले पूर्णसरसफाइ उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाइ अभियानलाई प्राथमिकतामा राख्दै आएको छ ।

कोभिडको प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संघसंस्था सरसफाइमा सक्रिय रूपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरूले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाइ कार्यक्रम गर्दै आएका छन् ।

सरसफाइ अभियानमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी विभिन्न संघसंस्था, टोल विकास संस्था र समुदायस्तरको सहभागिता रहने गरेको छ । सरसफाइ अभियन्ताहरूले सुर्ती, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्ने गरेका छन् । प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा मानव स्वास्थ्यमा हानि पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न उनीहरूको आग्रह छ ।

नगर प्रमुख घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरवासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारबाही हुने बताए । “नगरपालिकाले जथाभावी फोहाेर फ्याँक्नेलाई कारबाही गर्ने गरेको छ, अहिले नगरबासीमा सरसफाईप्रतिको चेतना जागृत भएको छ”, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड