सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी — OSNepal

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

LC (KTM) November 19, 2021 0

काठमाडौँ, ३ मङ्सिर -प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी तोक्नुभएको थियो । उहाँले आफ्ना लागि कुनै पनि इजलास तोक्नुभएको थिएन । पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । कुनै पनि इजलासमा सुनुवाइ भने शुरु भएको छैन ।

प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूलकोट) ले बिहीबार गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश राणासहित १९ जना न्यायाधीशको पूर्ण बैठकले गोला प्रक्रियासहितको नियमावली र गोेला प्रणालीकोे कार्यविधि बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको नियमावली राजपत्रमा प्रकाशित भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनले गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नुपर्नेलगायत सुझावसहितको सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आएको थिए । उक्त माग भने पूरा हुने भएको छ ।सोही मागसहित विभिन्न मागका कारण गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुडाल, बमकुमार श्रेष्ठ, डा मनोजकुमार शर्माले इजलासमा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहनुभएको छ ।अदालतमा मुद्दाको चापअनुसार नियमतिरुपमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर