OSNepal मंगलबार, मंसिर १४ २०७८

मिथिलाञ्चलमा प्रेम र समर्पणको पर्व सामाचकेवा सम्पन्न

मिथिलाञ्चलमा प्रेम र समर्पणको पर्व सामाचकेवा सम्पन्न

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


मिथिलाञ्चलमा प्रेम र समर्पणको पर्व सामाचकेवा सम्पन्न
Reading Time: 3 minutes

जलेश्वर, ३ मङ्सिर-मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक शुक्ल पञ्चमीका दिन सुरु भई १० दिनसम्म अर्थात कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म मनाउने यो लोकपर्व गएराति सम्पन्न भएको हो । मिथिलाका नारीले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व गएराति धुमधामका साथ विभिन्न नदी, पोखरी तथा तालतलैयामा गएर सामाचकेवाको विसर्जन गरी समापन गरेको हो ।

अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न ब्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरूलाई मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।कात्तिक शुक्ल पञ्चमीका दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएर सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाएका थिए ।

सोही दिन बेलुका सामा चकेवा सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर सामा चकेवा रङ्गीचङ्गी बनाएर दिदीबहिनीहरुले सोही रातिदेखि सामाचकेवा पर्वको सुरुआत गरेका थिए । रङ्गिसकेका सामा चकेवा १० दिनसम्म रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतनाच गर्दै चेलीबेटीहरुले सामा चकेवा खेलेका थिए ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायतका गीतहरु गाएर सामा चकेवा खेल्ने तथा समूहमै एक सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा पर्व खेलेका थिए ।
दस दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीहरुले एघारौँ दिनमा हिजो बिहानै खेल्ने क्रममा टुटेफुटेका सामा चकेवालाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फाँर भराएर तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर सामा चकेवालाई बाजागाजा, गीतनादका साथ गए राति दिदीबहिनीहरुले सामाचकेवा विसर्जन गरेका छन् ।

मिथिलाञ्चलकी हरेक दिदीबहिनीहरुले सामा चकेवा पर्वलाई निकै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोही अनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनीहरु सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् । मिथिलाञ्चलका विभिन्न पर्वहरुमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेहरुका लागि निकै महत्वपूर्ण मानिन्छ ।

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीहरुसँग यस पर्वलाई मनाउने गर्दछन् । सामा चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लाहरुमा यो पर्व लोकप्रिय रहेको छ भने हर्षोल्लासका साथ यी ठाउँहरुमा यो पर्व मनाउने गर्दछन् ।मिथिलाञ्चलमा छठ पर्वको एक दिन पूर्वदेखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीहरुले जोरजाम गर्ने गर्दछन् । यस पर्वमा ससाना नानीहरु बढी उत्साहित रहने गर्दछन् भने बूढी आइमाईहरुले समेत यस पर्वको रमझममा आफूलाई रमाउन खोजेका हुन्छन् ।

पर्वको अन्तिम दिन दाजुभाइका हातबाट सामाचकेवा फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणाबापत दिने गरेका छन् । दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मिथिला संस्कृति परम्पराका जानकार बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड