मुलुकभर चिसो बढ्यो : अधिकांश क्षेत्रमा औषतभन्दा कम तापक्रम — OSNepal

मुलुकभर चिसो बढ्यो : अधिकांश क्षेत्रमा औषतभन्दा कम तापक्रम

LC (KTM) November 19, 2021 0

काठमाडौँ, ३ मङ्सिर- मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।

अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताउनुभयो । योबीचको समयमा कुनै दिन काठमाडौँमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ । नोभेम्बर लागेपछि काठमाडौँमा न्यूनतम तापक्रम पनि घटेको उहाँले बताउनुभयो । विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताउनुभयो । तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ । उहाँले आगलागी तथा डढेलोका घटनाहरु घट्न थालिसकेको बताउनुभयो । केही अघि मात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।

औषतभन्दा तापक्रम घट्ने क्रम काठमाडौँ उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो । मुख्यतः उपत्यकामा भने अक्टोबर २६ बाट अधिकतम तापक्रम औषतभन्दा कम देखिँदै आएको छ । पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औषतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा कँडेलले बताउनुभयो । हाल पोष्ट मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आँकलन आउन बाँकी नै छ । आइतबारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ ।

“बिहीबारसम्मको विवरण हेर्दा काठमाडौँ, दोलखा, डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औषतभन्दा कम तापक्रम मापन गरिएको छ”, कँडेलले रासससँग भन्नुभयो, “पोखरा, जामेसोमलगायत केही जिल्लामा तापक्रम औषतभन्दा केही बढी छ ।”

दुई दिन नोभेम्बर १७ (बुधबार) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम (३० वर्षको औषत तापक्रम २३.२ डिग्री) हो । यसपालिको अधिकतम तापक्रम घटेर २२ डिग्रीमा झरेको छ । अघिल्लो वर्ष सोही दिन २२ दशमलव ६ डिग्री थियो । त्यसको अघिल्लो दिन नोभेम्बर १६ (मङ्गलबार) औषत अधिकतम तापक्रम २२ दशमलव ९ हो । त्यसदिन तापक्रम २१ दशमलव ८ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो बिहीबार औषत तापक्रम २३ दशमलव ६ हो तर तापक्रम घटेर २२ दशमलव ५ मा आएको थियो ।

विभागका अनुसार अक्टोबर २६ (कात्तिक ९) पछि भने क्रमशः अधिकतम तापक्रम औषतभन्दा कम देखिँदै आएको छ । उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव ९ थियो । गत वर्ष औषतभन्दा बढी २७ दशमलव २ भएकोमा यसपालि अधिकतम तापक्रम घटेर २५ दशमलव ५ मा झ¥यो । काठमाडौँमा नोभेम्बर ५ मा सरदरभन्दा दुई डिग्री कम तापक्रम मापन गरिएको थियो । प्राप्त विवरणअनुसार उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव २ हुनुपर्नेमा घटेर २२ दशमलव ९ मा झरेको थियो । जबकी अघिल्लो वर्ष सोही दिन २५ डिग्री तापक्रम थियो ।

मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ । यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्काे हप्ता आँकलन सार्वजनिक गर्दैछ । त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ । सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ । हाल प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशमा सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मौसम बदलीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावान रहेको जनाइएको छ ।

आज पनि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा चिसो महसुस गरिएको छ भने मौसम सफा देखिएको छैन । घाम पनि लाग्न सकेको छैन । धुम्म छ, ठूलो पानी पर्ने अवस्था पनि छैन । उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्ने छ । यो क्रम भोलिसम्म रहने र आइतबारबाट सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।“यस्तो समयमा तापक्रम वायुमण्डल स्थित भएर बस्ने हुँदा प्रदूषण हुनसक्छ, यस्तो अवस्थामा सावधानी अपनाउनुपर्छ”, उहाँले भन्नुभयो । यसपालि जुम्लामा माइनस पाँच डिग्रीसम्म र काठमाडौँको न्यूनतम ७ दशमलव ४ डिग्रीसम्म तापक्रम झरेको मापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर