कांग्रेस अधिवेशनः रुपन्देहीमा दुई समूह प्यानलसहित प्रतिस्पर्धामा — OSNepal

कांग्रेस अधिवेशनः रुपन्देहीमा दुई समूह प्यानलसहित प्रतिस्पर्धामा

LC (KTM) November 19, 2021 0

बुटवल, ३ मंसिर-नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रकाे अधिवेशनअन्तर्गत रुपन्देहीमा दुईवटा समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रुपन्देहीमा प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्रमा आज कांग्रेसको अधिवेशन हुँदैछ ।नौ वटा क्षेत्रमा दुईवटा समूहले आ-आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् । एउटा क्षेत्रमा भने सर्वसम्मत हुने सम्भावना रहेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

रुपन्देही-१ प्रदेश सभा १ मा नवीन आचार्य र मदन पोखरेल प्रतिस्पर्धामा छन् । आचार्य देउवा निटक हुने् भने पोखरेल पौडेल निकट मानिन्छन् । निर्वाचन नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा देउवा समूहबाट माधवलाल देवकोटा र पौडेल समूहबाट खड्गबहादुर महतले उम्मेवारी दिएका छन् । प्रदेश सभा २ मा देउवा समूहबाट रामेश्वरप्रसाद श्रेष्ठ, पौडेल समूहबाट पर्शुराम ढकालले उम्मेवारी दिएका छन् ।

रुपन्देही-३ अन्तर्गत प्रदेश सभा १ मा देउवा समूहबाट सुरेन्द्रजंग थापा र पौडेल समूहबाट पुरनप्रसाद श्रेष्ठ, प्रदेश सभा २ मा देउवा समूहबाट घनश्याम चालिसे र पौडेल समूहबाट दुर्गा चापागाईं, क्षेत्र नम्बर ४ को प्रदेश सभा १ मा देउवा समूहबाट राजकुमार सिंह र पौडेल समूहबाट शिवकुमार यादव, क्षेत्र नम्बर ४ को प्रदेश सभा २ मा देउवा समूहबाट अशोककुमार त्रिपाठी र पौडेल समूहबाट श्रीराम यादवले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । दुवै समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा भने पौडेल समूहबाट बिन्दराम यादव निर्विरोध भएका छन् । प्रदेश सभा २ मा देउवा समूहबाट रामबहादुर थापा र पौडेल समूहबाट गुरु घिमिरे प्रतिस्पर्धामा छन् । पौडेल निकट मानिने कांग्रेसका बुटवल उपमहानगर कमिटी सभापति खेलराज पाण्डेले आफ्नो समूहले जित्ने दाबी गरे । कांग्रेसलाई गति दिन केन्द्रीय महाधिवेशनमा नेतृत्व परिवर्तन हुनै पर्ने उनले बताए । देउवा निकट मानिने कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले पालिकाहरूमा आफूहरूको बहुमत भएकाले आफ्नो समूहले जित्ने दाबी गरे । प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्ने छ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्वपदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, संघीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर