कांग्रेस अधिवेशन : खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद — OSNepal

कांग्रेस अधिवेशन : खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद

LC (KTM) November 19, 2021 0

खोटाङ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खोटाङ प्रदेश सभा (ख) को अधिवेशन जारी छ । केही बेरअघि नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सिमपानी क्याम्पसमा सुरु क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को मतदान बिहान १० बजेदेखि सुरु भएको हो । हालसम्म ४० प्रतिशत मत खसेको छ ।

हलेसीस्थित महेन्द्रोद्वय माविमा आयोजना गरिएको क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को अधिवेशन जारी छ । तर नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भनिए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिका उम्मेद्वार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषय टुंगो नलाग्दा मतदान सुरु हुन नसकेको जनाइएको छ । अल्पसंख्यकको सूचीमा ‘खवास’ मात्र उल्लेख भएकाले भुजेलको विषयमा विवाद उठेको हो । विवाद समाधानको नजिक पुगेको निर्वाचन अधिकृत शिवहरि ढकालले बताए ।

क्षेत्रीय अधिवेशनमा प्रदेश सभा (क) र (ख) मा सात–सात सय क्षेत्रीय प्रतिनिधिले भोट हाल्ने कांग्रेसले जनाएको छ । क्षेत्रीय कार्यसमितिको अधिवेशनको चुनावी दौडमा देउवा, पौडेल, कोइराला, सिटौला र गगन थापा निकट चार प्यानल चुनावी मैदानमा देखिएका छन् ।

देउवा निकट टिमले कांग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश (क) मा भक्तजंग राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलीपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई उठेका छन् ।

कोइराला निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।

पौडेल निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सह–सचिवमा कमल प्रधान र राजकुमार बस्नेत छन् ।

कृष्ण सिटौला र गगन थापा प्यानलबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटुवाल, सहसचिवमा मणिराज खत्री र शिव राई चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर