चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतदान सकियो, छ पदका लागि १८ जनाको उम्मेद्‌वारी — OSNepal

चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतदान सकियो, छ पदका लागि १८ जनाको उम्मेद्‌वारी

LC (KTM) November 19, 2021 0

चितवन – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार चितवनको छ वटै प्रदेश निर्वाचन क्षेत्रमा मतदान सकिएको छ । बिहान ९ बजेबाट भएको मतदान प्रक्रिया केहीबेर अघि सकिएको मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए ।

शुक्रबार साँझदेखि नै मतगणना हुने भएकोले शनिबार बिहानसम्ममा मतपरिणाम आइसक्ने उनले बताए । उनका अनुसार कुल ३४५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १ (क)का लागि खैरहनी नगरपालिका–९ स्थित पुन समाजको भवनमा मतदान भएको थियो । यस क्षेत्रको सभापति पदका लागि कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी परेको छ ।

५६५ मतदाता रहेको निर्वाचन क्षेत्र नं १ (ख)को लागि रत्ननगरको होटल स्टारमा निर्वाचन भएको थियो। यस क्षेत्रमा सभापति पदका लागि गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापाको उम्मेद्‌वारी परेको थियो ।

४७७ मतदाता रहेको निर्वाचन क्षेत्र नं २ (क)को मतदान भने उद्योग वाणिज्य संघमा भएको थियो, जहाँ सभापति पदका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए ।

सोही निर्वाचन क्षेत्र नं २ (ख)को निर्वाचन भने यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेसमा भएको थियो, जहाँ ४९२ जना मतदाता छन् । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले सभापति पदका लागि उमेदवारी दर्ता गराएका थिए ।

६०५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ (क)को लागि शारदानगरस्थित शहीदस्मारक कलेजमा मतदान भएको थियो । यस क्षेत्रमा सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराएका थिए ।

सोही क्षेत्रको निर्वाचन क्षेत्र नम्बर ३ (ख)को निर्वाचन पार्वतीपुरको सत्कार पार्टी प्यालेस पार्वतीपुरमा भएको थियो, जहाँ ३५५ जना मतदाता छन् । क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्दै छन् । यस क्षेत्रमा सभापति पदका लागि अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कुँवर र शोभाखर चापागाईले उम्मेद्‌वारी दर्ता गरेका छन् ।

हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक जना सभापति, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव निर्वाचित गर्नेछ । यस्तै, १६ देखि १८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर