प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने — OSNepal

प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने

LC (KTM) November 20, 2021 0

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो । प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ ।

चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पु-याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पु-याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले छ महिनाभित्र सम्पन्न हुन्छ ।”

उनका अनुसार केही स्टेसनमा दुई सय मिटरसम्म लाइन तान्नुपर्छ । जसमा छवटासम्म विद्युत् पोल थप्नुपर्छ । केहीमा तीनवटा र केहीमा छवटा सवारी एकैसाथ चार्ज हुने गरी स्टेसन निर्माण भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिनेछ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् । विद्युतीय स्टेसनबाट कार आधा घन्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफर्मर राखिने छ । टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागिएको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ लगानी गरिएको छ । ५० वटा स्टेसन निर्माणको लागत ४० करोड रुपियाँ छ । हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछन् । काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा स्टेसन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर