कांग्रेस अधिवेशन : रिजर्भ बसमा क्षेत्रीय प्रतिनिधि सरर — OSNepal

कांग्रेस अधिवेशन : रिजर्भ बसमा क्षेत्रीय प्रतिनिधि सरर

LC (KTM) November 21, 2021 0

खोटाङ-नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि गाडी रिजर्भ गरेर दिक्तेल भित्रिन थालेका छन् । ६ मंसिरमा हुने जिल्ला अधिवेशनका लागि विभिन्न पालिकाका क्षेत्रीय प्रतिनिधि जिप तथा बस रिजर्भ गर्दै दिक्तेल आउन थालेका हुन् ।

बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सयौं क्षेत्रीय प्रतिनिधि शनिबार साँझ ६ वटा रिजर्भ बसमा कांग्रेसको झण्डा फहराउँदै दिक्तेल भित्रिएका छन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख) को अधिवेशनका लागि खोटेहाङ गाउँपालिकाको सिमपानीमा भेला भएका बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका क्षेत्रीय प्रतिनिधि घर नफर्की सिधै जिल्ला अधिवेशनका लागि दिक्तेल पुगेका हुन् ।

क्षेत्रीय प्रतिनिधि बोक्न सिमपानी–दिक्तेलका लागि प्रतिवटा ३५ हजारमा बस रिजर्भ गरिएको कांग्रेस बराहपोखरी गाउँपालिकाका सभापति खिलाराज राई (दीपक)ले बताए ।

क्षेत्रीय प्रतिनिधि बोक्नका लागि बराहपोखरीबाट सिमपानीसम्म पुग्न प्रतिवटा १५ हजारमा दुई वटा जिप रिजर्भ गरिएको थियो । जन्तेढुंगाबाट प्रतिवटा १५ हजारमा पाँच वटा जिप रिजर्भ गरेर सिमपानी पुगेका क्षेत्रीय प्रतिनिधिलाई दुई वटा बस रिजर्भ गरेर दिक्तेल पुर्‍याइएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

बाइकबाट यात्रा गर्ने क्षेत्रीय प्रतिनिधि बाहेक अधिकांशलाई दिक्तेल लैजान गाडी रिजर्भ गरिएको जनाइएको छ । क्षेत्रीय प्रतिनिधिबाट पर्सनल खर्च उठाएरै गाडी रिजर्भ गरिएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जरा बताउँछन् ।

दिक्तेलबजारका होटेल भरिभराउ

कांग्रेसको क्षेत्रीय प्रतिनिधि भित्रिएपछि दिक्तेलबजारका होटेल भरिभराउ भएका छन् । होटेलका अधिकांश कोठा बुकिङ गरिएका छन् । क्षेत्रीय प्रतिनिधिलाई क्षेत्रीय कार्य समितिले खाना र बासको व्यवस्था मिलाएको छ । पेय पदार्थका लागि भने आफैले खर्च गर्नु पर्ने छ ।

जिल्ला सभापतिमा चार आकांक्षी

कांग्रेसको जिल्ला सभापतिका लागि पूर्व राज्यमन्त्री सर्वधन राई, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य रबीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षा देखिएका छन् ।

पूर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबीप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्व सभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौलासँग नजिक मानिन्छन् ।

(क्याप्सन : जिल्ला अधिवेशनका लागि रिजर्भ बसमा दिक्तेल आइपुगेका कांग्रेस क्षेत्रीय प्रतिनिधि ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर