विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै — OSNepal

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै

LC (KTM) November 21, 2021 0

फुङ्लिङ, ५ मङ्सिर -विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यस वर्ष भने आन्तिरक तथा बाह्य पर्यटक उत्साहजनकरूपमा बढ्दै गएका हुन् ।कोभिड–१९का कारण दुई वर्ष सुनसान रहेको कञ्चनजङ्घा क्षेत्रमा गत महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको हो । कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधार क्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमा पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ । नेपालका विभिन्न जिल्ला गरी १०० जना आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको जाँचचौकी कार्यालयले जनाएको छ ।

अमेरिका, फ्रान्स, जर्मन, लाचिया, ब्रिटिस र भारतलगायत देशबाट ६५ बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताउनुभयो ।यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुई अमेरिकी आरोहीसहितको टोली करिब एक महिना आरोहणको प्रयासपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङतर्फ फर्किएको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ । यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ पर्यटक ओलाङचुङगोलबाट संखुवासभाको सीमा क्षेत्र लुम्बासुम्बा हुँदै मकालु प्रवेश गरेको ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताउनुभयो ।

पर्यटकको चहलपहल बढेसँगै तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय बस्तीमा पयर्टकको खचाखच हुन थालेको छ । त्यस्तै तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला बस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताउनुभयो । फले, घुन्सागाउँ कञ्चनजङ्घा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुआत विन्दु पर्दछ । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताउनुभयो ।

लामो समयसम्म कोभिड–१९का कारणले बन्द भएको कञ्चनजङ्घा क्षेत्रका होटल खुल्ल थालेका छन् । ठूलो लगानी गररे निर्माण गरिएका होटल दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो । तर गत सातादेखि पर्यटकको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ । कोभिडका कारण बन्द रहेका होटल व्यवसायी कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आएपछि पर्यटन तथा होटल व्यवसायी अहिले उत्साहित बनेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर