पत्रकार महासंघको चेतावनी :राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधिमा आवद्ध भए सदस्यता खारेज हुन सक्छ — OSNepal

पत्रकार महासंघको चेतावनी :राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधिमा आवद्ध भए सदस्यता खारेज हुन सक्छ

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति ध्यानाकर्षण गराएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस प्रति आपत्ती जनाएको छ ।

प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ , ‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’ ।

नेपाल पत्रकार महासंघले विधानमै प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भनि लेखिएको भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरुमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ भन्ने व्यवस्था रहेको छ । उक्त बुँदा कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको जानकारी समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर