कांग्रेस महाधिवेशन : सोलुखुम्बु, पाल्पा,पाँचथर र मोरङका प्रदेश निर्वाचन — OSNepal

कांग्रेस महाधिवेशन : सोलुखुम्बु, पाल्पा,पाँचथर र मोरङका प्रदेश निर्वाचन

LC (KTM) November 21, 2021 0

सोलुखुम्बु, ५ मङ्सिर -नेपाली कांग्रेस आसन्न १४औँ जिल्ला अधिवेशनअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनबाट जिल्ला सभापतिबाहेक जिल्ला कार्यसमितिका ३६ पद चयन भएका छन् । गत बिहीबार सम्पन्न मतदानको गणना शनिबार राति सकिएसँगै जिल्ला सभापतिबाहेकका समिति र महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेका खण्डमा कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार नेतृत्व चयन हुन नसकेको बताइएको छ ।

यस्तो अवस्थामा जिल्ला सभापतिका लागि पुनःसहमति या निर्वाचनमा जानुपर्ने बाध्यता रहेको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि नाम्गेल जाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी परेको थियो । ९२४ जना क्षेत्रीय प्रतिनिधिमध्ये जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा ८८२ मत खसेको थियो । मत परिणामअनुसार सभापतिका उम्मेदवार शेर्पाले ४१८ र विनोदकुमार बस्नेतले ४२८ र रामबहादुर बस्नेतले पाँच मत प्राप्त गर्नुभएको छ ।खसेको मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसक्दा कि सहमति नभए पुनः मतदानबाहेक विकल्प नभएकाले पुनःमतदानमा जानुपर्ने निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिनुभयो ।

जिल्ला कार्यसमितिको उपाअध्यक्षसहितको अधिकांश पदमा भने विनोदकुमार बस्नेत समूहबाट विजयी भएका छन् । उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी कुलुङ र युवराज घिमिरे, सहसचिवमा ङिमाछिरी शेर्पा र उत्रमान राई विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसमध्ये सहसचिव उत्रमान राई शेर्पा समूहका हुनुहुन्छ भने अन्य सबै बस्नेत समूहका हुनुहुन्छ । सभापतिमा सहमति नभएका खण्डमा आज नयाँ मतदानको मिति तोकिने जनाइएको छ । यस्तै निर्वाचन प्रणालिमार्फत २५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जसमा संस्थापनइतर पक्षका २१ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा प्रकाशसिङ कार्की, आङछिरिङ शेर्पा, आङ्गेलु शेर्पा, खिलराज बस्नेत, कुशराज राई, भोजराज कार्की, मङ्गलसिङ तामाङ, नातिकाजी गुरुङ र मनोज खड्काले ३८८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रत्यक्ष महिलातर्फ एका कुमारी बस्नेत, गीता गुरुङ, छिण्डील्हमू शेर्पा र रिना उप्रेती निर्वाचित हुनुभएको छ भने खस आर्यतर्फ प्रभुराम बस्नेत, आदिवासी जनजाति प्रतिनिधि खुलातर्फ आङकाजी शेर्पा, जीवन गुरुङ, ढलबहादुर मगर र महेन्द्र दीप राई निर्वाचित हुनुभएको छ ।आदिवासी जनजाति महिलातर्फ गान्धीमाया तामाङ, फुर्कीमा शेर्पा र विमला गुरुङ निर्वाचित हुनुभएको छ । दलित प्रतिनिधिमा धर्मबहादुर दर्जी, मधेसी, थारू, अल्पसङ्ख्यकतर्फ अशोककुमार झा र अल्पसङ्ख्यक वा अपाङ्गतातर्फ लोकेन्द्रबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

पाल्पाका चार प्रदेशमा नयाँ नेतृत्व-कांग्रेसको चौधौँ महाधिवेशनमा जिल्लाका चार प्रदेशमा निर्वाचन सकिएको छ । जिल्लामा तीन क्षेत्रमा निर्वाचन प्रक्रिया र एक क्षेत्रमा भने सर्वसहमतिमा नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) को सभापतिमा रामबहादुर राना निर्विरोध चयन हुनुभएको छ । अधिवेशनले उहाँको नेतृत्वमा सबै प्रदेश समिति सर्वसहमतिमा गठन गरेको हो । अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधि सर्वसहमतमासमेत चयन भएको छ । क्षेत्र नं १ प्रदेश (ख) को सभापतिमा युवराज पौडेल चुनावी प्रक्रियामार्फत निर्वाचित हुनुभएको छ । अधिवेशनबाट पौडेलले १६५ मत ल्याएर विजयी हासिल गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कृष्ण भट्टराईले ७२ मत ल्याउनुभएको छ ।

यहाँ सहमति नजुटेपछि सभापति, सहसचिव र प्रदेश महाधिवेशन प्रतिनिधिमा खुला महिला, खुला जनजाति र जनजाति महिला छनोटका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएका छन् ।
क्षेत्र नं २ को प्रदेशसभा (क) को सभापतिमा लक्ष्मी अधिकारी २६३ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी राधेश्याम ज्ञवालीले ९८ मत प्राप्त गर्नुभएको छ । यहाँ क्षेत्रीय सदस्य खुला पदका लागि बाहेक अन्य पदका लागि निर्वाचन भएको छ । त्यस्तै क्षेत्र नं २ (ख) मा रुक्मागत भट्टराईको प्यानल नै विजयी भएको छ । सभापतिमा भट्टराईले दम्बहादुर कार्कीलाई पराजित गर्दै २०३ मत ल्याएर विजयी हासिल गर्नुभएको छ । दम्बहादुरले ११० मत ल्याउनुभएको छ । मङ्सिर ६ गते दुई क्षेत्रको महाधिवेशनको तयारी थालिएको छ ।

पाँचथरका प्रदेशसभा अधिवेशन सम्पन्न-पाँचथरका दुवै प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।दुवै क्षेत्रीय कार्यसमितिमा मतदानमार्फत कांग्रेसले नयाँ नेतृत्व चयन गरेको हो । नेपाली कांग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘क’ मा भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ । क्षेत्रीय कार्यसमितिको सभापति पदमा योङहाङले २९६ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी कुमार राई (प्रताप)ले २६२ मत प्राप्त गर्नुभएको छ ।

कार्यसमितिको सचिवमा योङहाङको प्यानलका यससुन्दर आचार्य र सन्तोष मोक्तान विजयी हुनुभएको छ । आचार्यले ३२६ मत र मोक्तानले २७८ मत प्राप्त गर्नुभएको छ । सचिव पदमा राईको प्यानलका केशव गुरागाईंले २३० मत र टेकराज योङहाङले २०७ मत प्राप्त गर्नुभएको छ । सहसचिवमा योङहाङको प्यानलका नरेन्द्र पन्थाक ३०६ मत र सुन्दर थोक्लिहाङ ३१४ मत पाई विजयी हुनुभएको छ । सहसचिव पदमा राईको प्यानलका राजन बुढाथोकीले २२१ मत र रुपेन्द्र तामाङले १७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मीप्रसाद ढुङ्गानाले घोषणा गर्नुभयो ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘क’ बाट अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । जसमध्ये हिजो बिहान भएको मतदानमा ५७२ जनाले भाग लिएका थिए । बाह्र जना भने मतदानमा अनुपस्थित थिए । क्षेत्रीय कार्यसमितिको उपसभापतिमा भने भरतकुमार खपाङ्गी र सीताराम न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं क को मतगणना हिँजो बेलुकी सम्पन्न भएको हो ।

प्रदेशसभा क्षेत्र नं ‘ख’ को सभापतिमा मैया श्रेष्ठ (लावती) विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार उहाँले २७३ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गर्नुभएको छ । उपसभापति पदमा श्रेष्ठको प्यानलका तेजबहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जीतबहादुर भण्डारी २७४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उपसभापति पदमा गणेश मिश्रले ११२ मत र महेन्द्रकुमार आङ्देम्बेले १८६ मत पाउनुभएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सचिवमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत हुनुभएको छ ।

यस्तै दुई सहसचिवमा ज्योति प्रभा भण्डारी २७२ र नरेन्द्र शेर्माले २४२ मतसहित विजयी हुनुभएको छ । सहसचिव पदमा गोपाल घिमिरेले १८० मत र भीमप्रसाद हुमागार्र्इंले १४५ प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘ख’ मा काँग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए ।

निर्वाचन क्षेत्रको परिणाम-कांग्रेको आशन्न १४औँ महाधिवेशनका क्रममा मोरङ निर्वाचन क्षेत्रअन्तर्गतको निर्वाचन सम्पन्न भइसकेको छ । शनिबार सम्पन्न निर्वाचनको मत परिणामलाई आज सार्वजानिक गरिएको हो ।निर्वाचन समितिका सचिव मोदराज घिमिरेका अनुसार निर्वाचन क्षेत्र नं १ ‘क’मा नरबहादुर तामाङ ‘ख’मा राजकुमार लामा, निर्वाचन क्षेत्र नं २ ‘क’मा कन्हैयालाल राववंशी ‘ख’मा देवेन्द्र बस्नेत, निर्वाचन क्षेत्र नं ३ को ‘क’मा गङ्गा याख्खा ‘ख’मा जगतलाल चौधरी, निर्वाचन क्षेत्र नं ४ को ‘क’मा एकाराम माझी ‘ख’मा सुवोध निरौला, निर्वाचन क्षेत्र नं ५ को ‘क’मा अचानु खा गन्गाँई‘ख’मा जितु साह र निर्वाचन क्षेत्र नं ६ को ‘क’मा दिपक भगत ‘ख’मा मधु तिवारी सभापति पदमा निर्वाचित हुनुभएको छ ।

सचिव घिमिरेले दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र नं १ को ‘ख’मा निर्वाचन क्षेत्र नं २ को ‘ख’मा र निर्वाचन क्षेत्र नं ५ को ‘क’ र ‘ख’का उम्मेदवार सर्वसम्मतिले छनोट भएको जनाएको छ । निर्वाचनमा निर्वाचन क्षेत्र नं १ को‘क’मा २८३ ‘ख’ मा ३७६, निर्वाचन क्षेत्र नं २ को ‘क’मा २९८ ‘ख’ मा ३८४, निर्वाचन क्षेत्र नं ३ को ‘क’मा २५९‘ख’ मा २६०, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा ३५२ ‘ख’ मा ३३८, निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा २४६ ‘ख’ मा १९७ र निर्वाचन क्षेत्र नं ६ को ‘क’ मा ३०४ र ‘ख’ मा २५४ मतदाताले मतदान गरेका थिए (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर