फुङ्लिङ र यासोकमा आँखा शिविर, झण्डै ७ सयले लिए सेवा — OSNepal

फुङ्लिङ र यासोकमा आँखा शिविर, झण्डै ७ सयले लिए सेवा

LC (KTM) November 21, 2021 0

ताप्लेजुङ, ५ मंसिर – ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र पाँचथरको यासोकमा सञ्चालन भएको शल्यकृया सहितको निःशुल्क आँखा शिविरबाट करिब ७ सय जनाले स्वास्थ्यलाभ गरेका छन् ।

शिविरमा ८८ जनाको मोतियाबिन्दुको र ६ जनाको साधारण शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघले जनाएको छ । ६१२ जनाले आँखाको परीक्षण तथा उपचार गराएका थिए भने निःशुल्क औषधि र न्यूनतम् शुल्कमा चश्मा समेत वितरण गरिएको नेपाल नेत्र ज्योति संघद्वारा ताप्लेजुङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए ।

पाँचथरको कुम्मायक गाउँपालिका, नेत्रज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेसन काठमाडौंको आयोजनामा यासोक बजारमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा २८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजी थेबेकाअनुसार २८८ जनाले आँखाको परीक्षण तथा उपचार गराए ।

कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा पालिका केन्द्र यासोक बजारमा नेपाल नेत्र ज्योति संघले आँखा उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

यता ताप्लेजुङको फुङ्लिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । ६ जनाको साधारण शल्यकृया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङले जानकारी दिए । ३२४ जनाले आँखाको परीक्षण तथा उपचार गराएको समेत उनले बताए ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा सेवा फाउण्डेसन काठमाण्डौको आयोजना तथा फुङ्लिङ स्थित सानिमा बैंकको सहयोगमा आँखा शिविर सञ्चालन गरेको थियो । नेत्र ज्योति संघद्धारा सञ्चालित इटहरी आँखा अस्पतालका डाक्टर अंकिता शर्माको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिक टोलीले फुङ्लिङ र यासोक दुबै क्षेत्रका आँखा शिविरमा शल्यक्रिया, परीक्षण तथा उपचार गरेको नेत्र ज्योति संघ ताप्लेजुङका सभापति मुक्तिराज पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर