वडाध्यक्ष भएपछि पाएकाे पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने नरेशको घोषणा — OSNepal

वडाध्यक्ष भएपछि पाएकाे पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने नरेशको घोषणा

LC (KTM) November 21, 2021 0

इलाम, ५ मंसिर- इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म प्राप्त गरेको सेवा सुविधा बापतकाे रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका छन् । इलामको गजुुरमुखीमा आइतबार आयाेजित पत्रकार सम्मेलनमा उनले हालसम्म कानुन बमोजिम प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका हुन् ।

उनले नगरपालिकाबाट अहिलेसम्म सेवा सुविधा बापत पाँच लाख रुपैयाँ खातामा जम्मा भएको बताए । त्यसमध्ये दुई लाख रुपैयाँ माइस्थान मन्दिर क्षेत्र विकास समितिको अक्षय कोषमा जम्मा गर्ने बताए । अक्षय कोषबाट प्राप्त रकम इलाम बजारमा रहेका परेवाको चारो व्वयस्थापनमा खर्च हुने गरेको छ । बाँकी दुई लाख रुपैयाँ भने नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन निर्माणका लागि दिने श्रेष्ठले घोषणा गरे । कांग्रेस इलामको आफ्नो कार्यालय भवन छैन । कांग्रेसले भवन निर्माण गर्ने तयारी गरिरहेको छ ।

बाँकी रहेकाे एक लाख रुपैयाँ भने कांग्रेसको चालु महाधिवेशन र विभिन्न पालिकाहरुलाई सहयोग गरेको श्रेष्ठले बताए । आफू जनताको सेवाको लागि जनप्रतिनिधि भएको र जनताको सेवा गरे बापत सुविधा नलिने घोषणा गरेकाले कानुन बमोजिम प्राप्त रकम सामाजिक कार्यमा खर्चिएको उनले बताए । ‘सेवा सुविधाको लागि जनप्रतिनिधि लिप्त हुनु हुँदैन, कानुन बमोजिम मेरो खातामा रकम जम्मा भयो,’ उनले भने,‘त्यो रकम आफूले खर्च नगरेर मन्दिरको अक्षय कोष र पार्टीको लागि खर्च गर्ने निर्णय गरेको हुँ ।’ कांग्रेसका पूर्व सभापति केशव थापाले श्रेष्ठले महानता प्रकट गरेको टिप्पणी गरे । ‘सबैले गर्नुपर्छ भनेर म भन्दिन, सक्नेले गर्नुपर्छ,’ उनले भने, ‘यो एउटा महानता हो, यस्तो मान्छे थोरै हुन्छन् ।’ श्रेष्ठले नगरपालिकाबाट यातायात सुविधा लिएका छैनन् । इलाम नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराएको छ । श्रेष्ठ २०४६ देखि विद्यार्थी राजनीतिबाट कांग्रेसँग जोडिएका हुन् । तरुण दल इलामका अध्यक्षसमेत रहेका श्रेष्ठ इलाम निर्वाचन क्षेत्र २ को क्षेत्रीय सभापतिका आकांक्षी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर