जनयुद्धका क्रममा घटेका घटनाको सत्यतथ्य पत्ता लगाई छानबिनका लागि प्रतिबद्ध छौँ : अध्यक्ष दाहाल — OSNepal

जनयुद्धका क्रममा घटेका घटनाको सत्यतथ्य पत्ता लगाई छानबिनका लागि प्रतिबद्ध छौँ : अध्यक्ष दाहाल

LC (KTM) November 21, 2021 0

काठमाडौँ, ५ मङ्सिर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा घटेका घटनाको सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न, पीडितलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पु¥याई मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको बताउनुभएको छ । बृहद् शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा आज एक सन्देश दिनुहुँदै उहाँले हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धिप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीको छानबिन गरी सार्वजनिक गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “यो मामला सरकारको मात्र नभई राज्यको मामिला हो । यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौँ र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्नेमा हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौँ ।” उहाँले शहीद तथा बेपत्ता परिवार, घाइते विस्थापितलगायतको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पु¥याउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । उहाँले शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नं १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको तथ्य प्रस्तुत गर्नुभएको छ । त्यससम्बन्धी दोस्रो कार्ययोजनासमेत कार्यान्वयन गर्नेमा विश्वास दिलाउँदै अध्यक्ष दाहालले ऐतिहासिक दिनमा जाहेर गरिएको प्रतिबद्धता पूरा गर्न सबै पक्षबाट सहयोगको अपेक्षासमेत गर्नुभएको छ ।

संविधानसभाबाट संविधान, त्यसको कार्यान्वयनका निम्ति निर्वाचन र निर्वाचित पदाधिकारीले पहिले कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले नेपाली सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भई कार्यरत रहेको स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष दाहालले संवैधानिक रुपमा स्थापना भएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाती आयोगजस्ता आयोगले पनि मानवअधिकार र शान्तिका लागि आफ्नो भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । शान्ति प्रक्रियाका लागि योगदान गर्ने सबैलाई धन्यवाद दिनुहुँदै अध्यक्ष दाहालले नेपाली समाजमा रहेका समस्याहरु क्रमशः समाधानको दिशामा जाने विश्वाससमेत व्यक्त गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर