बढ्यो गोलभेँडाको भाउ प्रतिकेजी १२० रुपैयाँ,छाक टार्न नै गाह्रो — OSNepal

बढ्यो गोलभेँडाको भाउ प्रतिकेजी १२० रुपैयाँ,छाक टार्न नै गाह्रो

LC (KTM) November 22, 2021 0

दशैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् ।ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रतिकेजी १०० देखि १२० रुपियाँसम्म पुुगेको छ । गोलभेँडा मात्रै होइन, अन्य ताजा तरकारीको भाउ सयभन्दा माथि छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार स्थानीय काउली प्रतिकेजी ८० देखि ११० रुपियाँ, गोलभेँडा, प्रतिकेजी ९० देखि १२० रुपियाँ, गाँजर प्रतिकेजी १२० रुपियाँ, सेतो मूला ५० रुपियाँ, बोडी तने १२० रुपियाँ, घिउ सिमी १४० रुपियाँ, मटरकोसा २०० रुपियाँ रहेको छ ।

यस्तै सुकेको प्याज प्रतिकेजी ५५ रुपियाँ थोकमा कारोबार भइरहेको छ भने रातो आलु प्रतिकेजी ७० रुपियाँ थोकमा किनबेच भइरहेको छ । थोकमा यो अवस्थामा रहेको तरकारीको भाउ खुद्रामा झनै छोइसाध्यै छैन ।चार जनाको परिवारलाई २०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो हुन थालेको छ ।

तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको ३०० रुपियाँ परेको अनुभव कीर्तिपुरका उपभोक्ता विमला अधिकारीको छ । पहिले दुई÷तीन थरी तरकारी र अचार हुने अधिकारीको भान्सामा अचेल एक थरी मात्रै तरकारी मुस्किलले पाक्न थालेको छ ।कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहनुभएका ट्याक्सी ड्राइभर विनोद क्षेत्रीले तरकारी खान नसक्ने भएपछि विकल्पमा गेडागुडीको टुसा उमारेर खान थालेको बताउनुभयो ।

उत्पादन र आयात दुवैमा कमी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मागअनुसार आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । कालीमाटीमा सामान्य अवस्था दैनिक एक हजारदेखि एक हजार १०० मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले छ सयदेखि साढे छ सय मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ ।

कालीमाटी समितिका प्रवक्ता विनय श्रेष्ठले वर्षे तरकारी सकिएको र हिउँदे तरकारी बजारमा पर्याप्त नआइसकेकाले बजारमा तरकारी महँगो भएको बताउनुुभयो ।उपभोक्ता अधिकारकर्मीले मौसमी तरकारी पर्याप्त नआउनु तरकारीको भाउ बढ्नुमा जिम्मेवार मानिए पनि केही हदसम्म बिचौलिया हाबी हुनु सधैँको समस्या भएको बताउँदै आएका छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले तरकारीको कारोबारमा बिचौलिया व्यापारीको बढी चलखेल हुने हुँदासमेत नियमनकारी निकाय मौन रहने गरेकाले सामान्य समस्यामा पनि तरकारीको भाउ उच्च हुने गरेको आरोप लगाउनुुभयो । तरकारी व्यापारीले भने तरकारीको भाउ किसानको तहबाट महँगो भएर आएकाले बजारमा तरकारी महँगो भएको बताउँदै आएका छन् । कालीमाटी तरकारी बजार थोक व्यापार सङ्घको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले तरकारी भाउ किसानकै बारीमा महँगो भएको दाबी गर्नुुभयो ।

तह मुख्य समस्या

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने अर्को सातादेखि तरकारी अनुुगमन गर्ने तयारी गरेको छ । विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले तरकारको तह नघटाएसम्म अनुुगमन गरेर मात्रै भाउ नघट्ने बताउनुुभयो ।

उहाँले यसअघि नै तरकारीको मूल्य बढ्नुुमा मुख्य कारण उत्पादनदेखि उपभोक्तासम्म आउने छदेखि सात तह रहेको पाइएकाले ती तह घटाएर तीन बनाउनुपर्ने सुुझावसहितको प्रतिवेदन तयार गरेको बताउनुुभयो । तरकारीको तह नघटेसम्म किसान र उपभोक्ता सधैँ मारमा पर्ने भन्दै उहाँले भन्नुुभयो, “विभागले तह घटाउनुपर्ने सुुझावसहितको रिपोर्ट तयार गरेर कृषि मन्त्रालयमा दिएका छौँ, त्यस विषयमा कुनै काम भएको देखिँदैन । ” गोरखापत्र दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर