कांग्रेस अधिवेशन : तनहुँमा मन्त्रीदेखि वडाध्यक्षसम्म चुनावी मैदानमा — OSNepal

कांग्रेस अधिवेशन : तनहुँमा मन्त्रीदेखि वडाध्यक्षसम्म चुनावी मैदानमा

LC (KTM) November 22, 2021 0

तनहुँ, ६ मंसिर-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तनहुँमा आज हुँदैछ । तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । क्षेत्र नम्बर १ को सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरू भइसकेकाे छ । यहाँ नाै सय ५४ मतदाताले पार्टीको नयाँ नेतृत्व चयनमा मतदान गर्ने छन् ।

क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अधिवेशन हुँदैछ । नयाँ नेतृत्व छान्न अबको केही बेरमा मतदान सुरू हुने निर्वाचन अधिकृत केशवराज काफ्लेले बताए । ‘प्राविधिक कारणले केही ढिलाई भएको हो । अबको आधा घण्टाभित्र मतदान सुरू हुनेछ,’ उनले भने । उनका अनुसार यो क्षेत्रमा आठ सय ६१ जना मतदाता छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा दुई वटा प्यानल मैदानमा होमिएका छन् । संस्थापन देउवा पक्ष निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको प्यानल खडा भएको छ ।

केन्द्रीय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको प्यानल पनि चुनावी मैदानमा छ । जिल्ला सभापति न्यौपाने र कार्यवाहक सभापति आले वरिष्ठ नेता पौडेलका ‘हार्डलाइनर’ नेता हुन् । तर यी दुवै नेता अधिवेशनको समय फरक प्यानलमा लागेका छन् । संस्थापन देउवा पक्षले वरिष्ठ नेता पौडेललाई गृह जिल्लामै कमजोर सावित गराउन ‘हार्डलाइनर’ नेतालाई विभाजन गरेर प्यानल खडा गरेको हुन सक्ने चर्चा छ । प्रदेश सभा क्षेत्रीय अधिवेशनमा प्राप्त मतलाई विश्लेषण गर्दा क्षेत्र नम्बर १ मा पौडेल समूह बलियो देखिन्छ । क्षेत्र नम्बर २ मा भने संस्थापन समूह बलियो ठानिएको छ । तर, अन्तिम मत परिणाम नआउन्जेल यसै भन्न सकिने अवस्था नरहेको नेताहरू बताउँछन् ।

यी हुन उम्मेद्वार
क्षेत्र नम्बर १ को सभापतिमा विश्व बाँस्तोला र श्याम मौरातीबीच प्रतिस्पर्धा हुँदैछ । बाँस्तोला पौडेल निकट नेता भए पनि संस्थापन समूहका नेता हाबी प्यानलबाट मैदानमा उत्रिएका हुन् । मौरातीले पौडेल र न्यौपानेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । सचिवका उम्मेदवार चुडामणि दाहाल, दयानीधि नराल, तारानरेश पौडेल, राजु बानियाँ छन् । सहसचिवमा अर्जुन अधिकारी, युवराज आले, रविन पौडेल, शैलेश खातीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा कृष्णराज पण्डित र चुडामणि खनालको भिडन्त हुँदैछ । खनाल वरिष्ठ नेता पौडेल निकट नेता भनिए पनि भण्डारी, वाग्ले, भट्टराई र आलेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । पण्डितले पौडेल र न्यौपानेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । क्षेत्र नम्बर २ को सचिवमा जीवनचन्द्र ठकुरी, पूर्णचन्द्र घिमिरे, प्रेमबहादुर थापा र सन्तोष घिमिरेको उम्मेदवारी परेको छ । सहसचिव पदमा चित्रबहादुर राना, टुकराज श्रेष्ठ, नरसिङ राना र यामबहादुर थापा सारु चुनावी परीक्षामा छन् ।

महाधिवेशन प्रतिनिधिमा मन्त्रीदेखि वडाध्यक्षको उम्मेदवारी

तनहुँमा कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा रोचक भिडन्त त महाधिवेशन प्रतिनिधि पदमा हुँदैछ । यो पदमा मन्त्रीदेखि वडाध्यक्षसम्मका वहालवाला जनप्रतिनिधिको दबदबा छ । संविधानसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्ने होडमा देखिन्छन् । तसर्थ, पनि पार्टीको आन्तरिक निर्वाचनमै कस्ले बाजी मार्ला ? कसले पराजय भोग्नु पर्ला? भन्ने विषयलाई खुब चासोको साथ हेरिएको छ ।

क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि पदमा दलित खुलातर्फ गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे बिक चुवानी मैदानमा छन् । आदिवासी जनजाति महिलामा प्रदेश सभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियार दलित महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

खस आर्यबाट जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिका-१३ का वडाध्यक्ष रामबहादुर बानियाँ, आदिवासी जनजातिमा व्यास नगरपालिका-१३ का वडाध्यक्ष लेखबहादुर राना, अल्पसंख्यकमा व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिंह दरै महाधिवेशन प्रतिनिधि पदमा निर्वाचन लड्दैछन् । खुला महिलातर्फ आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुन् ।

क्षेत्र नम्बर २ मा संविधानसभा सदस्य ध्रुव वाग्ले, झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ खुल्लातर्फ महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना खुला महिलातर्फ, व्यास नगरपालिका-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ जनजाति पुरुषतर्फ, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा जनजाति महिलातर्फ, म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य रामकृष्ण विक दलित पुरुषतर्फ, जिल्ला समन्वय समिति सदस्य दिव्यश्वरी विक दलित महिलातर्फ र घिरिङ गाउँपालिका–१ का वडाध्यक्ष गंगाबहादुर कुमाल अल्पसंख्यकतर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेवारी दिएका छन् ।

जिल्ला समन्वय समितिका सदस्य नीलबहादुर थापाले जनजातितर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर