कीरा फैलिन नदिन झरेका सुन्तलाका दानाको व्यवस्थापन — OSNepal

कीरा फैलिन नदिन झरेका सुन्तलाका दानाको व्यवस्थापन

LC (KTM) November 22, 2021 0

म्याग्दी, ६ मङ्सिर – म्याग्दीमा चाइनीज सिट्रोस फ्रुट फ्लाई नामक कीराको सङ्क्रमणबाट झरेका सुन्तलाको दाना व्यवस्थापन गर्न थालिएको छ । केही वर्षयता सुन्तला पाक्ने बेलामा दानाभित्र चाइनीज सिट्रोस फ्रुट फ्लाई र सिट्रोस ग्रिन नामक कीराको असरले दाना झर्न झरेर किसानलाई सताउँदै आएको छ । औँसा परेर झरेका सुन्तलाको दानालाई सुरक्षित राख्न र पासो थाप्नका लागि प्राविधिक ज्ञान दिनस्थलगत तालिम सुरु गरिएको कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार बेनी नगरपालिका–४ बास्कुना र अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानलाई बगैँचामै आँैसाले झरेका दाना तथा बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने तालिम दिइएको छ । अर्मन, बरङजामा पनि तालिम सञ्चालनको तयारी गरिएको छ । स्थलगत तालिम सञ्चालनका लागि केन्द्रले रु दुई लाख बजेट छुट्याएको छ ।

यसैगरी सिट्रोस फ्रुटफ्लाई कीरा मार्ने खाद्यपासो प्रोटिन बेट र झरेका दाना व्यवस्थापन गर्ने प्लास्टिकको बोरा वितरणका लागि रु दश लाख छुट्याएकोे छ । तीन हजार किलोग्राम प्लास्टिकको बोरा वितरण गर्ने लक्ष्य लिइएको अधिकृत पाण्डेले बताउनुभयो । गतवर्ष प्रोट्रिन बेटको खाद्य पासो राखिएकाले झरेका दाना व्यवस्थापन भएको बगैँचामा यसपाली कीराको प्रकोप घटेको हुँदा यस अभियानलाई विस्तार गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । पाक्ने बेलामा दाना झर्ने समस्याले गर्दा केही वर्षयता जिल्लामा सुन्तला खेती मुख्य चुनौतीको रुपमा देखा पर्दै आएको छ ।

सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्याका कारण ठूलो क्षति भएको बेनी नगरपालिका–३स्थित राखुका खिमबहादुर पुनले बताउनुभयो । कात्तिकको अन्तिम हप्तादेखि सुन्तलाको दाना झर्न थालेको त्यहाँका किसानले बताएका छन् । सुन्तला जातका फलफूलको दानाभित्र पसेको औँसाले असोजदेखि पुस महिनासम्म पहँेलो बनाएर दानामा प्वाल पारेर भूइँमा खसाल्ने गर्छ । किसानलाई झरेका दाना व्यवस्थापन गर्न सिकाउनाका साथै आगामी वर्ष समस्या आउन नदिन प्रोटिन बेट वितरण गर्न थालिएको प्रमुख सिग्देलले बताउनुभयो । उहाँका अनुसार भुइँमा खसेको आँैसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाईबस्तुलाई खुवाउने र डेढफिटभन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

जेठ असारमा दानाभित्र पस्ने औँसा चिसो मौसममा जमिनभित्र बस्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत वैशाख महिनामा प्रोट्रिनबेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राविधिकले बताएका छन् । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेँलो भएर सुक्ने समस्या पनि देखिएको छ । प्रोटिन बेटमा दाना झार्ने कीरालाई मन पार्ने तत्व मिसाइएको हुन्छ । खानेकुरासँगै विषादी खाएर कीरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ । रुख सुक्ने समस्या समाधानका लागि बगैँचा व्यवस्थापन र सुकेका हाँगा काँटछाँट गर्न कृषिप्रसार अधिकृत पाण्डेले सुझाव दिनुभयो । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न पनि उहाँको आग्रह थियोे ।

राखु, मरेक, सुर्केमेला, बरङजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । सातसय छ हेक्टर जमिनमा सुन्तला खेती भएको केन्द्रको तथ्याङ्क छ । तीनसय पैँतिस हेक्टर जमिनमा लगाइएको बोटले उत्पादन दिँदै आएको थियो । गतवर्ष दुई हजार ४१२ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यहाँको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा निकासी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर