OSNepal मंगलबार, मंसिर १४ २०७८

सौराहामा मूर्तिकार : जनावर हेर्दै ढुंगामा मूर्ति कुँद्दै

सौराहामा मूर्तिकार : जनावर हेर्दै ढुंगामा मूर्ति कुँद्दै

  • OSNepal
  • मंगलबार, मंसिर ७ २०७८


सौराहामा मूर्तिकार : जनावर हेर्दै ढुंगामा मूर्ति कुँद्दै
Reading Time: 3 minutes

चितवन, ७ कात्तिक-मोरङ मिक्लाजुङका बलबहादुर घिमिरे केही दिनदेखि चितवनको सौराहा राप्ती नदीको डिलमा बसेर ढुंगामा विभिन्न आकृति बनाउनमा व्यस्त छन् । बिहान ७ बजेदेखि बेलुका आँखाले देखुन्जेलसम्म ढुंगामा विभिन्न जनावरका मूर्ति कुँद्नमा उनी तल्लिन हुन्छन् ।

राप्ती नदीको किनारमा घाम ताप्दै गरेका गोही र नदी पारिको चितवन राष्ट्रिय निकुञ्जबाट निस्किने गैंडा लगायतका जनावर । साथै स्थानीय व्यवसायीले सफारीका लागि पालेका हात्ती हेर्दै उनले ढुंगामा ती जनावरको मूर्ति कुँद्ने गरेका छन् ।

सौराहाको अन्तिम बिन्दुमा पर्ने राप्ती नदीको डिलमा तीनवटा ठूला ढुंगा लगेर राखिएको छ । ती ढुंगामा वन्यजन्तुका मूर्ति कुँद्न पाँच जना मूर्तिकार २ मंसिरदेखि खटिएका छन् । ढुंगामा बाघ, हात्ती र गैंडाको टाउको र अजिंगर, गोही र हाँसको पूर्णकदको मूर्ति बनाउन मूर्तिकारहरू पूर्वी नेपालका विभिन्न जिल्लाबाट आएका हुन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा हुँदै छ । त्यसैलाई लक्षित गरि सौराहालाई थप आकर्षक बनाउन ढुंगामा वन्यजन्तुका मूर्ति कुँद्न लागिएको हो । १० मंसिरसम्ममा तीनवटै ढुंगामा वन्यजन्तुका मूर्ति कुँदेर सक्ने मूर्तिकारहरूको लक्ष्य छ ।

बलबहादुरले ढुंगामा मूर्ति कुँद्न थालेको १० वर्षजति भयो । उनी यो क्षेत्रमा सुरूमा रमाइलोका लागि आएका थिए । दाजुभाइ र साथीहरूको देखासिकी गरेर मूर्ति बनाउन थालेका उनी हाल यस क्षेत्रमा व्यावसायिक रूपमै लागेका छन् ।

ढुंगामा मूर्ति कुँद्नका लागि बलौटे ढुंगा हुनुपर्छ । सौराहामा ल्याइएको ढुंगा कडा खालको ढुंगा हो । कडा खालको ढुंगा भएकाले मूर्ति कुँद्न केही कठिन भएको उनी बताउँछन् । यद्यपि असम्भव भने नरहेको उनले बताए ।

उनका दाइ ढुंगामा बुद्धको मूर्ति बनाउनका लागि जापान गएका छन् । यसअघि इलाम, पाँचथर, मोरङ र झापा लगायतका जिल्लामा ढुंगामा मूर्ति कुँद्ने काम गरेको उनले बताए । ‘यो भन्दा पहिला ढुंगामा धेरैजसो देवी देवताका शालिक बनाउने गरेको थिएँ । यहाँ चाँहि जीव जनावरहरूको मूर्ति बनाउँदै छु’, उनले भने ।

मूर्तिकला नै उनले आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् । तीन/चार वर्ष पहिलेसम्म ढुंगामा मूर्ति बनाउने प्रचलन खासै थिएन । पछिल्ला वर्षहरूमा भने विभिन्न ठाउँमा ढुंगामा विभिन्न बस्तुको चित्र बनाउने गतिविधि बढेको उनी बताउँछन् ।

‘पहिला त काम पाउनै धरै दुःख थियो । अहिले चाँहि त्यतिसारो गाह्रो छैन । काम पाइराखेको छ, गरिरहेका छौँ’, उनले भने । आफुहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले ढुंगामा मूर्ति बनाउने कामका लागि बोलाएको उनले बताए ।

राप्ती नदीको डिलमा बसेर ढुंगामा वन्यजन्तुको चित्र बनाउँदै गर्दा उनीहरूले प्रत्यक्ष रूपमा गोही, गैंडा र हात्ती पनि देख्ने गरेका छन् । कुनै बेला प्रत्यक्ष रूपमा वन्यजन्तु हेर्दै पनि उनीहरूले ढुंगामा चित्र कुँदेका हुन्छन् ।

आयआर्जनको बाटो मूर्तिकला

उनीसँगै संखुवासभाका भक्तिराम राई ढुंगामा मूर्ति कुँद्न व्यस्त देखिन्छन् । हाल झापाको दमकमा बसेर मूर्तिकलासम्बन्धी काम गर्दै आएका राई सौराहामा २ मंसिरमा आएका हुन् । उनले ढुंगामा व्यावसायिक रूपमा मुर्ति कुँद्न थालेको करिब चार वर्ष भयो ।

‘सुरूमा त रमाइलो लागेर नै सिकेको हो । विस्तारै सिक्दै गएपछि आयआर्जनको बाटो नै यही बन्यो’, उनी भन्छन् । ढुंगामा मूर्ति कुँद्नका लागि उनीहरूले हथौडा, छिनो, ग्रेन्डरजस्ता औजारको प्रयोग गर्छन् ।

मूर्ति बनाउँदा ढुंगाबाट निस्किने धुलोका कणलाई छेक्न उनीहरूले विशेष किसिमको फिल्टर मास्क प्रयोग गर्छन् । धुलो छेक्ने फिल्टर मास्क उनीहरूले जापानबाट नै ल्याउने गरेका छन् । उनीहरूले अवस्था हेरेर मूर्ति बनाएको एक दिनका चार हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । आफुहरूको पारिश्रमिकको विषयमा सरकारले पनि तोकी नसकेको उनी बताउँछन् ।

सिप र क्षमता भयो भने मूर्ति बनाएरै पनि जिविकोपार्जन गर्न सकिने उनले बताए । ‘विदेश गए पनि नेपाली श्रमिकले ३० देखि ४० हजार नै पाउने हो । त्योभन्दा सिप र क्षमता भयो भने स्वदेशमै बसेर पनि राम्रो कमाउन सकिन्छ’, उनले भने ।

रत्ननरगर नगरपालिकाको पहल र जिल्ला समन्वय समिति चितवनको बजेटमा सौराहाको राप्ती नदी डिलमा ढुंगामा मूर्ति बनाउन लागिएको हो । रत्ननगर–६ मा पर्छ सौराहा ।

मूर्ति बनाउन १० लाख बजेट

केही महिनाअघि न्युयोर्क पुगेका रत्ननगरका मेयर नारायण वनले स्थानीय घरहरूको आडमा ढुंगामा विभिन्न वस्तुको मूर्ति कोरेर आकर्षक बनाएको देखे । उक्त आकर्षक ढुंगाको नजिक पुगेर नियालेका वनले वास्तवमा त्यो वस्तु ढुंगा नै नभएर प्लाष्टिकको सामाग्रीमा रंग लगाएर ढुंगा जस्तो बनाइएको थाहा पाए ।

‘प्लाष्टिकलाई पनि त्यसरी ढुंगा जस्तो बनाएर आकर्षक बनाउँदा रहेछन् । त्यो देखेपछि हामीले पनि सौराहामा ढुंगामै मूर्ति कुँदेर आकर्षक बनाउनुपर्छ भन्ने सोच आयो । त्यसपछि कालिका नगरपालिकाबाट ढुंगा ल्याएर अहिले मूर्ति कुँद्ने काम भइरहेको छ’, उनले भने ।

कालिकाको जुटपानीबाट तीनवटा ढुंगा सौराहाको राप्ती नदीको ड्याममा ल्याएर मूर्ति कुँद्ने काम भइरहेको छ । सुरूमा ढुंगामा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने वनपाले, गाइड लगायतको अर्धकदको मूर्ति बनाउने उनको योजना थियो ।

तर, मूर्तिकारको सल्लाहविनै ल्याइएका उक्त ढुंगा कडा खालको परे । त्यस्ता ढुंगामा मान्छेको चित्र कुँद्न कठिन हुने बताएपछि अहिले वन्यजन्तुको चित्र बनाउने काम भइरहेको छ । जिल्ला समन्वय समिति चितवनको १० लाख रुपैयाँ सहयोगमा ढुंगामा मूर्ति बनाउने काम भइरहेको उनले जानकारी दिए ।

सौराहाको अन्तिम गन्तव्यमा पर्ने त्यस तटबन्धलाई व्यवस्थित गरेर मार्बल विच्छाइएको छ । त्यसबाट पर्यटकले राप्ती नदीको किनारमा घाम तापिरहेका गोहीदेखि हात्ती र जंगली जनावरहरू अवलोकन पनि गर्न पाउँछन् । मार्बल हालिएको ठाउँमा तीनवटा ठूला ढुंगा लगेर राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड