नेकपा एमालेले जनता र देशलाई भुलेर गलत बाटोमा हिँडेपछि त्याग्नुपरेको हो : अध्यक्ष नेपाल — OSNepal

नेकपा एमालेले जनता र देशलाई भुलेर गलत बाटोमा हिँडेपछि त्याग्नुपरेको हो : अध्यक्ष नेपाल

LC (KTM) November 24, 2021 0

धनुषा, ७ मङ्सिर-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताउनुभएको छ ।धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भन्नुभयो, “नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भन्नुभयो, “न्याय र सत्यको जित अवश्य हुनेछ ।” नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भन्नुभयो, “ठूला ठूला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।”

उहाँले हिन्दी शैलीमा भन्नुभयोे, “जो हमसे टकराएगा चुर चुर हो जाएगा ।” उहाँले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाउनुभयो । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उहाँको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिह्न कलम लिएर जनतामाझ आएको उहाँको भनाइ थियो ।

उहाँले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिँचाइ र मलखादको व्यवस्था गर्ने पनि बताउनुभयो । नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडि दौडिन नहुन कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताउनुभयो । अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताउनुभयो । उहाँले विभिन्न पार्टीको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गर्नुभयो ।

अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पु¥याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।अध्यक्ष नेपालले मुलुकमा सङ्घीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गर्नुभयो । गठबन्धन आउँदो चुनावसम्मै कायम रहने पनि नेपालले बताउनुभयो ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिकरूपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभयो । समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो । पार्टीले कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो । झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ । झालाई समाजवादीका अध्यक्ष नेपालले फूल माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । यस्तै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रबाट वरिष्ठ दन्त चिकित्सक डा अजयकुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर करिब ५०० समाजवादीमा प्रवेश गरेको पनि पार्टीले दाबी गरेको छ । डा झा नेविसङ्घ धनुषाका जिल्ला अध्यक्षसमेत भइसक्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर