एम्बुलेन्समा बिहेको समान भेटिएपछि विप्लव समूहले लियो नियन्त्रणमा — OSNepal

एम्बुलेन्समा बिहेको समान भेटिएपछि विप्लव समूहले लियो नियन्त्रणमा

LC (KTM) November 24, 2021 0

दार्चुला, ८ मंसिर- एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै विप्लव तेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउँपालिका-४ ऐरिछानाबाट विप्लव समूहले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाको एम्बुलेन्सले व्यक्तिगत समान बोकिरहेको भन्ने जानकारी पाएपछि यात्रु र समान बोकिरहेको अवस्थामा नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका लेकम गाउँपालिका इन्चार्ज भुवन जोशीले जानकारी दिए ।

गाउँपालिकाको एम्बुलेन्सले पटक पटक व्यक्तिगत समान बोक्ने गरेको र बिरामीलाई चाहिएको बेला नपाइने स्थानीयको गुनासो आएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ । बिहेको समान र ६ जना यात्रु बोकेर मालिकार्जुन गाउँपालिका- ४ ऐरिछानाबाट लेकम गाउँपालिका- ४ खरकडातर्फ गइरहेको लेकम गाउँपालिकाको सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स ऐरिछाना क्षेत्रबाटै राति १० बजे नियन्त्रणमा लिएको जोशीले बताए ।

यात्रुलाई अर्को जिपमा घर पठाएको र एम्बुलेन्सको चाबी आफूहरूसँग रहेको उनले बताए । ‘एम्बुलेन्स लिनका लागि हालसम्म कसैले सम्पर्क गरेका छैनन्, आगामी दिनमा दुरुपयोग नहुने सर्तमा सम्बन्धित व्यक्तिलाई चाबी बुझाउने तयारीमा छौँ,’ जोशीले भने ।

एम्बुलेन्स विप्लव समूहले नियन्त्रणमा लिएको विषयमा कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव‌ं सूचना अधिकारी पुस्कर सिंह ऐरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर