वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै,एक महिनामा ५५ हजारले लिए श्रम स्वीकृति — OSNepal

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै,एक महिनामा ५५ हजारले लिए श्रम स्वीकृति

LC (KTM) November 25, 2021 0

काठमाडौं, मंसिर ९। वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैधानिक माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ९ सय ४७ जना गरी संस्थागत र व्यक्तिगततर्फबाट कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

यो तथ्यांक अघिल्लो महिनाको भन्दा झन्डै दुई गुणा हो । अघिल्लो महिना गत असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ ।

विभागको प्रगति विवरणअनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउन श्रम स्वीकृति निकालेका थिए । यसैगरी, अघिल्लो महिना गत असोजमा ५ सय ६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १२ हजार ३ सय ३ जनाको श्रम स्वीकृति भएको थियो । असोजमा साउदी अरबका लागि १३ हजार ३ सय ४८ जनाको श्रम स्वीकृति भएको थियोे । साउदी अरबपछि अघिल्लो महिनाजस्तै कतार जानेको श्रम स्वीकृति भएको थियो । असोजमा कतारजाने ७ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा कात्तिकमा ८ हजार ४ सय ८० जनाको श्रम स्वीकृति भएको छ ।

यसैगरी, यूएई जाने नेपाली कामदारको संख्या पनि अघिल्लो महिनाको भन्दा केही बढेको छ । असोजमा ३ हजार १ सय ६ जनाले यूएई जान श्रम स्वीकृति लिएकोमा कात्तिकमा ५ हजार १ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा मलेसियामा संस्थागत रूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा ८२ जनाको श्रम स्वीकृति भएको विभागले जनाएको छ ।

विभागकाअनुसार अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम कात्तिकमा पनि देखिएको छ । असोजमा २ सय ९ जनाको रोमानियाका लागि श्रम स्वीकृति भएकोमा कात्तिकमा २ सय ५० जनाको श्रम स्वीकृति भएको छ । सो अवधिमा ओमान जाने कामदारको संख्या भने केही घटेको छ । असोजमा ३ सय १३ जनाको श्रम स्वीकृति भएको ओमानमा कात्तिकमा २ सय ६२, मौरिससमा ९ जना, कुवेतमा १ सय ५८ जना, माल्दिभ्समा १२ जना, जोर्डनमा १४ जना, साइप्रसमा ३ सय ४० जना, बहराइनमा ७ सय ४७ जनाले संस्थागत एवं म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका छन् ।आजको राजधानी दैनिकमा खवर छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल दैनिक रूपमा २२ हजारभन्दा बढी हवाई यात्रुहरूले आवतजावत गरिरहेका छन् । विमानस्थलका अनुसार हाल दैनिक २ सय ८६ वटा आन्तरिक उडान र ५४ वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । यी उडानबाट १५ हजार ३ सय ७८ जना आन्तरिक र ७ हजार ४४ जना अन्तर्राष्ट्रिय उडानबाट गरी २२ हजार ४ सय २२ जना यात्रुहरू आवतजावत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर