कांग्रेसका चर्चित नेताहरू जो महाधिवेशन प्रतिनिधिमै पराजित भए — OSNepal

कांग्रेसका चर्चित नेताहरू जो महाधिवेशन प्रतिनिधिमै पराजित भए

LC (KTM) November 25, 2021 0

काठमाडौं-नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ । अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन् । जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ । यसपटकको कांग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् । जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वतर्मान र पूर्वपदाधिकारीसमेत छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित भए । जबकि कांग्रेसको क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा उनकै हात रहन्छ । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । दुवै संस्थापन समूहका हुन् ।

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बोहरा कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए । यस्तै, पूर्वसांसद बलदेव बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।यस्तै, चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । उनी देउवा समूहका नेताका रूपमा परिचित छन् ।

सुर्खेत कांग्रेसका सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पराजित भएका छन् । यस्तै, नेविसंघका बहालवाला र पूर्वमहामन्त्रीसमेत पराजित भएका छन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यस्तै, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना वडा कमिटीमै हारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर