विमलेन्द्र निधिले गरे सभापतिमा उम्मेदवारी दिने घोषणा, यस्तो छ उनका परिकल्पना र उद्देश्यहरु — OSNepal

विमलेन्द्र निधिले गरे सभापतिमा उम्मेदवारी दिने घोषणा, यस्तो छ उनका परिकल्पना र उद्देश्यहरु

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो पार्टीको महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहिबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै निधिले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको बताएका उनले सम्मेलनमा परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहेको बताएका छन् ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने र कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने बाचा समेत निधिले गरेका छन् ।

कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने नेता निधिले बताएका छन् ।

पत्रकार सम्मेलनमा निधिले सार्वजनिक गरेका परिकल्पना, ध्येय र उद्देश्यहरु यस्ता छन् ;

परिकल्पना:
नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यबस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय वनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने ।
नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने ।
नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने ।
देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने ।
जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपांगता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिंगीलगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने ।
सुन्दर फूलबारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली कांग्रेसका सम्पूर्ण तहगत समितिहरु र सदस्यहरुलाई सक्रिय बनाउने ।
भ्रातृ तथा शुभेच्छुक संस्थाहरु र नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने ।
विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणबाट विदेशमा रहेका सबै क्षेत्रर वर्गका नेपालीहरुको हित संरक्षणमा पार्टीले उचित पहल गर्ने र गरिरहने ।
हिमाल, पहाड, तराई–मधेसमा बसोबास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली कांग्रेसलाई बनाउने र उनीहरुको हितप्रबद्र्धनमा सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने ।
विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु रोकिएको छैन । न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ । ती करुण पुकारलाई सुन्न राज्यलाई नेपाली कांग्रेसले बाध्य पार्ने क्षमताको विकास गर्ने ।

ध्येय :
उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरु समयवद्ध प्रक्रिया अपनाई ५ वर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धता गर्दछु ।
नेपाली कांग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने ।
प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र सम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने ।
लोकतान्त्रिक आन्दोलनका शहीद र नेपाली कांग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान र स्वदेश प्रेमको भावना वृद्धि गर्न विद्यालयहरुमा लोकतन्त्र ज्ञान परीक्षा र नेपाल ज्ञान परीक्षा सञ्चालन गर्ने र विभिन्न खेलकूद, साहित्यिक कार्यक्रम, विद्यालय, स्वास्थ्यशाला, बाटो आदिको नामाकरण गरी स्मृतिसम्मानलाई चीरस्थायी राख्ने ।
समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवद्र्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने ।
लोकतान्त्रिक आन्दोलनका शहीद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान र सहयोग प्रदान गर्ने ।
नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरु बनाउने ।
विदेशमा पसिना चुहाउन विवश युवाहरुलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरु बनाउने ।
पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरुलाई प्रोत्साहित गर्ने ।
नेपाली कांग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने ।
पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने ।
विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने ।
सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्यांकन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका आधारभूत मान्यतासहित बनेको संविधान र राजनीतिक प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न र आम रुपमा सुशासनको विशेष अनुभूति गराउन पार्टीलाई परिचालित गर्ने ।
संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने ।

उद्देश्य :

उपरोक्त ध्येय प्राप्त गर्न पाँच वर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य ।
पार्टीभित्र नेतृत्व विकास, रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने ।
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र केन्द्रीय स्तरमा नै समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्ने, गराउने ।
पार्टीका जिल्ला सभापतिहरुको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्न भेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरुलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने ।
पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने ।
पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध विषयहरु बारे नियमित रुपमा प्रशिक्षण शिविरहरु संचालन गर्ने र सहकारी अभियानलाई तीव्र गराउदै पार्टीका सदस्यहरुलाई अभियानमा उत्प्रेरित गर्ने ।
पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरु केन्द्रीय, प्रादेशिक तथा स्थानीय स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने ।
देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्रराष्ट्रहरु सँगको सम्बन्ध सुमधुर गराउने ।
संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउने ।
पार्टीले सोसलिष्ट इन्टरनेशनलसहित समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरुसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने ।

अन्य सुधारहरु :

पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन ‘जय नेपाल गुनासो सेवा’ प्रारम्भ गर्ने ।
पार्टीका पुराना नेता तथा कार्यकर्ताहरुलाई आ–आफ्ना गाउँठाउँमा उनीहरुकै रुचि र सहभागितामा उपयुक्त कार्यक्रमहरु सन्चालन गर्ने । यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाइहरुलाई परिचालन गर्ने ।
वायुप्रदूषण घटाउन, पर्यावरणको संरक्षण गर्न, आफ्नो परिवार र समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाईमा उत्प्रेरित गर्न पार्टीका सदस्यहरुमार्फत सक्रिय सामाजिक अभियान चलाउने र जलवायु सम्बन्धी अन्तराष्ट्रिय महासन्धीलाई कार्यान्वयन गर्न सभापतिको हैसियतले मेरो यसमा पूर्ण सहयोग र समर्थन रहने छ ।
आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ । म यसबेला तमाम संचारकर्मी मित्रहरुले मलाई दिनु भएको स्नेह र सहयोगकालागि कृतज्ञता प्रकट गर्दछु । नेपाली कांग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु ।
समग्रमा नेपाली कांग्रेसमा स्वभाव, आचरण र व्यवहारमा सुधार गरी जनतासँग कांग्रेस र कांग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने ।
रूख चिन्हसँग मतदातालाई र चारतारे झण्डासँग जनतालाई जोड्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर