संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको बहुमतको सरकार : नेता निधि — OSNepal

संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको बहुमतको सरकार : नेता निधि

LC (KTM) November 25, 2021 0

काठमाडौँ, ९ मङ्सिर -नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेस बहुमतका साथ विजयी हुनुपर्ने बताउनुभएको छ ।पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसक्नुभएका उहाँले आज आफ्नो ‘प्रतिबद्धता र योजना’ सार्वजनिक गर्न यहाँ आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो । कांग्रेसलाई देशको एकमात्र सुसङ्गठित, सुव्यवस्थित र सक्षम पार्टी बनाउने र तीनै तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने आफ्नो योजना गरेको उहाँले उल्लेख गर्नुभयो ।

कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने योजना सुनाउँदै नेता निधिले भन्नुभयो, “नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय सहभागी गराउने मेरो परिकल्पना छ ।”पार्टीभित्रका गुटउपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबैलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्य उन्मुख गराउने, युवालाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णयानुसार कार्यान्वयन गराउनेलगायतका आफ्ना प्रतिबद्धता र योजनाका बारेमा उहाँले जानकारी गराउनुभयो ।

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहो¥याउने बताइसक्नुभएको छ । यसबाहेक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याण गुरुङ पनि सभापतिका आकांक्षीका रूपमा देखिनुभएको छ ।(रासस)

–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर