OSNepal मंगलबार, मंसिर १४ २०७८

जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे

जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे
Reading Time: 4 minutes

काठमाडौं, मंसिर १०-सामान्यतया शिवलाई परम पुरुष भनेर सम्बोधन गरिन्छ— शिव परम पौरुषका प्रतीक हुन् । तर, तपाईंले शिवको अर्धनारीश्वर रूपमा यो देख्न सक्नुहुन्छ कि उनको आधा भाग पूर्ण विकसित नारी हो ।

म पहिला तपाईंहरूलाई यस बारेमा एउटा कथा भन्छु । शिव परम–आनन्दको अवस्थामा थिए, र यसले गर्दा पार्वती शिवतर्फ आकर्षित भइन् । पार्वतीले उनलाई रिझ्याउन थुप्रै तरिकाहरू अपनाइन् अनि सबैथरीका सहायताहरू लिइन्, जसपश्चात दुवैको विवाह भयो । उनीहरूको विवाह भएपछि, स्वाभाविक रुपमा, शिवले पार्वतीसँग आफूले अनुभव गरिरहेको कुरा बाँड्न चाहे । पार्वतीले भनिन्, “तपाईं आफूभित्र जुन अवस्थामा हुनुहुन्छ, म पनि त्यसलाई अनुभव गर्न चाहन्छु । त्यसको लागि मैले के गर्नुपर्छ ? कृपया मलाई बताउनुहोस् । म जस्तोसुकै तपस्या गर्नको लागि तयार छु ।” शिव मुस्कुराए अनि भने, “ प्रिय, तिमीले कुनै ठूलो तपस्या गर्न आवश्यक छैन । तिमी यता आऊ अनि मेरो काखमा बस ।” पार्वती आइन् अनि कुनै हिचकिचाहटबिनै शिवको बायाँ काखमा बसिन् । उनी पूरै इच्छुक थिइन, उनले आफूलाई पूर्ण रूपमा शिवको हातमा सुम्पिएकी थिइन्, र यसैले गर्दा शिवले उनीलाई आफूभित्र ताने अनि उनी उनको आधा भाग भइन् ।

यसमा बुझ्नु पर्ने कुरा यो छ कि यदि शिवले पार्वतीलाई आफ्नै शरीरभित्र स्थान दिनुपर्ने हो भने, उनले आफ्नो आधा भागलाई हटाउनु पर्ने हुन्छ । अतः शिवले आफ्नो आधा भागलाई हटाए अनि पार्वतीलाई आफूमा समावेश गरे । यही अर्धनारीश्वरको कथा हो । यसले मूलतः यो दर्शाउने कोशिस गरिरहेको छ कि तपाईंभित्र पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) बराबर बाँडिएको हुन्छ । अनि, जब शिवले पार्वतीलाई आफूभित्र समाहित वा समावेश गरे, तब उनी परम–आनन्दको अवस्थामा पुगे । यसले यो सङ्केत गरिरहेको छ कि हामीभित्रको पौरुष र स्त्रैणको मिलन भयो भने, तपाईं परम–आनन्दको चिरस्थायी अवस्थमा रहनुहुन्छ । यदि तपाईंले बाहिरी संसारमा त्यसो गर्न खोज्नुभयो भने, यो कहिल्यै टिक्दैन । साथै, त्योसँगै आउने अनेक समस्याहरू अन्तहीन नाटक बन्दछन् ।

मूलतः यो दुईजना व्यक्तिहरूको मिलनको चाहना होइन, बरु जीवनका दुई आयामहरूको मिलनको तीव्र चाहना हो, जो बाहिर साथसाथै भित्र समेत एक हुन चाहन्छन् । यदि यसलाई तपाईंले आफूभित्र प्राप्त गर्नुभयो भने, बाहिरी मिलन शत–प्रतिशत तपाईंको रोजाइ अनुसार हुनेछ । अन्यथा, बाहिरी मिलन भयानक रूपमा बाध्यात्मक बन्नेछ । यही जीवनको तरिका हो । यो यस्तो वास्तविकता हो, जसलाई कथाको माध्यमले सुन्दर तरिकाले व्यक्त गरिएको छ— शिवले पार्वतीलाई आफ्नो एउटा भागको रूपमा समावेश गरे अनि त्यसैले आधा–नारी, आधा–पुरुष बने ।

यसले यो सङ्केत गरिरहेको छ कि यदि तपाईं आफ्नो चरम रूपमा विकसित हुनुभयो भने, तपाईं आधा पुरुष र आधा नारी हुनुहुनेछ— नपुंसक होइन, बरु पूर्ण विकसित पुरुष र पूर्ण विकसित स्त्री बन्नुहुनेछ ! र त्यसबेला मात्रै, तपाईं पूर्ण विकसित मानव बन्नुहुन्छ । तपाईंमा विषम (असमान) विकास भएको हुँदैन, तपाईं केवल पौरुष वा केवल स्त्रैण रहनुहुन्न, तपाईंले यी दुवैलाई पूर्ण रूपमा विकसित हुन दिनुभएको हुन्छ । पौरुष र स्त्रैण भनेको “पुरुष” र “स्त्री” होइन । यी निश्चित गुणहरू हुन् । यी दुवै गुणहरूबिच सन्तुलन भयो भनेमात्र, मानिसको जीवन तृप्त बन्दछ ।

यदि तपाईंले अर्धनारीश्वरको कथालाई सृष्टिको प्रतीकको रूपमा हेर्नुभयो भने, यी दुई आयामहरू— शिव र पार्वती वा शिव र शक्ति— लाई पुरुष र प्रकृति भनिन्छ । अचेल सामान्यतया “पुरुष” शब्दलाई “केटा” को रूपमा बुझिन्छ, तर यसको अर्थ त्यो होइन । प्रकृति भनेको “सृष्टि” हो । पुरुष त्यो आयाम हो, जो सृष्टिको स्रोत हो । सृष्टिको स्रोत त्यहीँ थियो, सृष्टि बन्यो अनि यो सृष्टिको स्रोतमा पूर्ण रूपमा समाहित भयो । जसलाई पुरुष भनिन्छ, त्यो कारक हो अर्थात् त्यो प्ररेक हो जसले चीजहरूलाई चलायमान राख्दछ । जब अस्तित्व आदिम अवस्थामा थियो, जब यो सृष्टिको अवस्थामा थिएन, जसले यसलाई एक्कासि सक्रिय बनाएर सृष्टिको रूप दियो, त्यो आयामलाई हामी पुरुष भन्छौँ । चाहे मानिसको जन्म भएको होस्, वा कमिलाको जन्म भएको होस्, वा ब्रह्माण्डमको जन्म भएको होस्, सबै एउटै तरिकाले भइरहेको छ । मानिसहरूको बुझाइको सन्दर्भमा यसलाई पुरुष वा पौरुष भन्ने गरिन्छ ।

सम्पूर्ण मानव जनसङ्ख्या व्यक्तिको एक कार्य— सम्भोग— ले गर्दा भएको हो, होइन त ? त्यो कुनै महान् कार्य होइन । यो जुनसुकै तरिकाले हुन सक्छ । यो गैर–जिम्मेवारपूर्ण तरिकाले, लापरवाही ढङ्गले, जबरजस्ती, क्रोधमा, घृणामा हुन सक्छ— यो सधैँ राम्रोसँग हुन्छ भन्ने छैन । तपाईंको तरिका जस्तोसुकै भए तापनि जनसङ्ख्या थपिन्छ । तर, गर्भमा जे भएको हुन्छ, त्यो जस्तोसुकै तरिकाले हुन सक्दैन । यो निकै व्यवस्थित र सुन्दर रूपमा हुनुपर्दछ, नत्र यसले काम गर्ने छैन । यदि त्यो प्रक्रियामा केही गलत भयो अथवा त्यो बलपूर्वक भयो भने, जीवन सम्भव हुन सक्दैन ।

अतः जब हामी यो आधारभूत प्रक्रियालाई हेर्छाैँ, जसले सृष्टिलाई चलायमान बनाएको छ, त्यो प्रक्रिया एउटा मात्रै कार्य जस्तो देखिन्छ । त्यसलाई पुरुष भनिन्छ, तर यसलाई अगाडि बढाउँदै बिस्तारै जीवनको रूप दिने आयामलाई हामी प्रकृति वा सृष्टि भन्दछौँ । यसैकारण, प्रकृतिलाई स्त्रैणको रूपमा चिनिन्छ ।

आज, हाम्रो समाज अनि यहाँ सम्म कि नारीहरूले समेत स्त्रैण प्रकृतिलाई कमजोरी भनेर गलत रूपमा बुझेका छन् । एउटी नारी पुरुष जस्तो बन्ने प्रयत्न गरिरहेकी छिन्, किनकि अहिले विश्वमा आर्थिक पक्ष प्रमुख शक्ति भएको छ । सबैथोक पुनः आदिम युगतिर फर्किएको छ— जीविकाको लागि सङ्घर्ष चलिरहेको छ । एकपटक जब त्यसो गर्नुहुन्छ, पौरुषको प्रभुत्त्व हुन्छ । हामीले प्रेम, करुणा र जीवनलाई अङ्गाल्ने सूक्ष्म पक्षहरूको सट्टा भद्दा र बीभत्स शैलीमा विजय पाउने शैली रोजेका छौँ ।

तपाईंले यो देख्नुहुनेछ कि यदि तपाईंसँग पौरुष मात्र छ भने, तपाईंसँग सबैथोक हुनेछ, तैपनि तपाईंसँग केही पनि हुने छैन । समाजमा स्त्रैण पक्षलाई चेतनशील रूपमा हुर्काउनु र त्यसको उत्सव मनाउनु अत्यन्तै आवश्यक छ । यो विद्यालय स्तरबाटै हुन जरूरी छ । बच्चाहरूलाई विज्ञान र प्रविधिमा जति प्रेरित गरिन्छ, त्यति नै सङ्गीत, कला, दर्शन र साहित्य जस्ता विषयमा जानको लागि समेत प्रेरणा दिनुपर्छ । यदि यस्तो नहुने हो भने, संसारमा स्त्रैण वा स्त्री सुलभ गुणको लागि कुनै स्थान नै रहने छैन । यदि हामीले आफ्नो जीवनको संरचनामा पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) लाई बराबर भूमिकामा व्यक्त हुन नदिने हो भने, हामी एकदमै अपूर्ण जीवन बाँच्ने छौँ, एकतर्फी जीवन बिताउने छौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड