एमाले महाधिवेशनका लागि कास्कीबाट ८९० गाडी चितवनमा — OSNepal

एमाले महाधिवेशनका लागि कास्कीबाट ८९० गाडी चितवनमा

LC (KTM) November 26, 2021 0

पोखरा,-नेकपा एमालेको १०औं महाधिवेशनका लागि गण्डकी प्रदेशबाट ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । गण्डकी प्रदेशबाट ९० हजार कार्यकर्ता चितवन झार्ने योजना रहेको संयोजक किरण गुरुङले बताए कास्कीका सचिव दामोदर वैरागीका अनुसार कास्कीबाट महाधिवेशनका लागि ८९० वटा गाडी सौराहा प्रस्थान गरेका छन् । २०५ वटा बस, ४५ वटा जिप, माइक्रो र भ्यान, १४० वटा निजी कार तथा पाँच सय वटा मोटरसाइकल सौराहा जानका सूचीकृत गरिएको उनले बताए ।

‘रुपा गाउँपालिकाले १५ वटा गाडी लान्छु भनेको छ । मादी, माछापुच्छ्रे र अन्नपूर्णले पनि सूचि दिएको छ,’ उनले भने, ‘पोखरा महानगरका प्रत्येक वडाबाट पाँच वटा भन्दा बढी गाडी जाँदैछन् ।’ उनको आँकडा अनुसार १३ हजार हाराहारी कास्कीबाट उपस्थित हुने छ । मुस्ताङबाट चार वटा गाडी र मनाङबाट एउटा गाडी महाधिवेशन स्थलतर्फ गएको छ ।

गोरखा एमालेले कार्यकर्ता ओसार्नका लागि १ सय वटा बस रिजर्भ गरेको जनाएको छ । त्यहाँबाट ५ हजार नेता कार्यकर्ता महाधिवेशनका लागि जानेछन् । म्याग्दीबाट ४० वटा गाडी रिजर्भ गरेर १५ सय जनालाई महाधिवेशनमा लैजाने तयारी छ । स्याङ्जाका प्रत्येक वडाबाट एउटा गाडी लैजानुपर्ने उर्दी छ । हिसाब गर्दा स्याङ्जाबाट ९७ गाडीले कार्यकर्ता ओसार्ने छन् ।

तनहुँबाट पार्टीले २५ र जनवर्गीय संगठनले ३–३ वटा गर्दा ५० वटा हाराहारी गाडी लैजाने तयारी छ । लमजुङबाट २० वटा, पर्वतबाट १५ र बागलुङबाट २० हाराहारी गाडी लगिँदै छ । तथापि सबैले दर्ता नगराएका कारण ठ्याक्कै तथ्यांक भन्न नसकिएको जिल्ला कमिटीले जनाएका छन् । नवलपुर नजिक भएकोले खासै हिसाब निकालिएको छैन । उनीहरू हिँडेरै वा कसैसँग सहयोग मागेर जान सक्ने भएकोले टाढाबाट आउनेलाई मात्रै रिजर्भ गाडीको व्यवस्था गरिएको प्रदेश संयोजक गुरुङले बताए । तनहुँको पनि देवघाट क्षेत्रका स्थानीय आफ्नै हिसाबले जाने योजनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर