स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो — OSNepal

स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

LC (KTM) November 26, 2021 0

काठमाडौँ, १० मङ्सिर -नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ ।माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहनुभएका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

विगत डेढ महिनादेखि उहाँको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित हुनुभएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।

नेता पुनसँगै उहाँका पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन जानुभएको छ । उहाँहरुको आजैदेखि स्वास्थ्य उपचार हुनेछ । जण्डिसले पिरोलेपछि नेता पुन गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताउनुभयो ।नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गर्नुभएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर