नारायणी नदी किनारमा एमाले महाधिवेशन सुरु — OSNepal

नारायणी नदी किनारमा एमाले महाधिवेशन सुरु

LC (KTM) November 26, 2021 0

चितवन, १० मङ्सिर -नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।

नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका ¥याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता कार्यकर्ताले महाधिवेशन हेरी रहेका छन् । महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन् ।

उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिष्ट पार्टीको हसिया हथौडा अङ्कित झण्डा र ब्यानर सझाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन सभामा देशभरबाट पाँच लाखभन्दा बढी एमाले नेता कार्यकर्ता सहभागी हुने बताउनुभएको थियो । ठूलो सङ्ख्यामा मानिसको उपस्थिति हुने भएकाले १३ स्थानमा गाडी पार्किङस्थल बनाइएको छ । मालबाहक सवारी साधनलाई रोकेर अत्यावश्यक र यात्रुबाहक सवारी साधनलाई भने गन्तव्यतर्फ पठाउन वैकल्पिक मार्गसहितको व्यवस्थापन गरिएको छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुने छन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदै छन् । उहाँका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन् । प्रतिनिधिमा २०९ दलित, उत्पीडित र ६२७ महिला रहेको उहाँले जानकारी दिनुभयो । कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उहाँको भनाइ छ । महाधिवेशनमा सल्लाहाकार १५ जनासहित पाका–पुराना १०३ जना परिवेक्षक रहनुहुनेछ ।महाधिवेशनको बन्दसत्र सौराहामा हुँदैछ । मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुँदैछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको भट्टराईले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर