निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट दर्ज्यानी चिन्ह सुशोभन — OSNepal

निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट दर्ज्यानी चिन्ह सुशोभन

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहनुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर ९ गतेको निर्णयअनुसार उहाँहरू प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।

उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको गहन एवम् महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी संगठनको नीति निर्देशन अनुसार बहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै कानूनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी उपरीक्षक जनक बहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर