अफ्रिकामा देखिएको कोरोनाको नयाँ संस्करण भित्रिन नदिन प्रवेशमा फेरि कडाइ — OSNepal

अफ्रिकामा देखिएको कोरोनाको नयाँ संस्करण भित्रिन नदिन प्रवेशमा फेरि कडाइ

LC (KTM) November 27, 2021 0

क्यानबेरा, ११ मङ्सिर-अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पार्नुभयो । “सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।

पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उहाँले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ ।तत्कालका लागि भने ती देशबाट आउनेहरुलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै सङ्क्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उहाँले बताउनुभयो ।

त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिनुभयो । तर अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।स्वास्थ्य मन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा कोरोनाभाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दावी पनि गर्नुभयो । तर पुरानै संस्करणको कोरोनाभाइरसको सङ्क्रमण भने अझै पनि फैलिइनै रहेको छ । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर